काठमाडौं । अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको फेकण्डो भिरमा चिरा परेर पहिरो खस्न थालेपछि दोसल्ले बस्तीका नौ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोले बस्तीका थप १८ परिवार जोखिममा छन् ।
भिर जुनसुकै बेला खस्न सक्ने अवस्था देखिएपछि भिरखाल्टा टोलका नौ परिवारलाई घरका सामान र पशुचौपायासहित सुरक्षित स्थानमा स्थानान्तरण गरिएको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले बताउनुभयो । उहाँले सम्भावित मानवीय तथा भौतिक क्षति रोक्न तत्काल सावधानी अपनाइएको उल्लेख गर्नुभयो ।



स्थानान्तरण गरिएका परिवारमा रामचन्द्र पुर्जा, शेरप्रसाद पाइजा, विजय पुर्जा, हर्कवीर गर्बुजा, दुतबहादुर पुन, कृष्णबहादुर पुन, सोहनसिंह पुन, हेमबहादुर पुन र रेबहादुर पुन रहेका छन्। उनीहरू हाल माथिल्लो दोसल्ले क्षेत्रमा रहेका गोठ तथा अन्य सुरक्षित स्थानमा बसिरहेका वडाध्यक्ष मइलन पुर्जा पुनले जानकारी दिनुभयो ।
केही दिनअघि भिरमा अस्वाभाविक चिरा देखिएपछि स्थानीयवासीले जोखिमबारे गाउँपालिका र प्रशासनलाई खबर गरेका थिए । त्यसपछि गाउँपालिका अध्यक्ष पुन, उपाध्यक्ष दिवा तिलिजा पुन तथा प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यसहितको टोलीले घटनास्थल निरीक्षण गरेको थियो । पहिरोको भू–गर्भीय अवस्था पत्ता लगाउन भूगर्वविद्को टोलीबाट विस्तृत अध्ययन गराउन राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणलाई सिफारिस गरिएको छ । प्रारम्भिक निरीक्षणका क्रममा ड्रोन क्यामेराबाट पनि भिरको अवस्था हेरिएको थियो ।
स्थानीय ६९ वर्षीय जितबहादुर पुर्जाले आफूले बाल्यकालदेखि सोही भिर हुँदै घाँसदाउरा र लेकबेँसी गर्ने गरे पनि यसरी पहाड चिरिएको नदेखेको बताउनु भयो । अहिले ढुङ्गा र माटो खस्न थालेपछि स्थानीयमा त्रास बढेको छ ।
पहिरोका कारण दोसल्लेको सुन्तला बगैँचा समेत जोखिममा परेको छ । पहिरो विस्तार भए कालीगण्डकी नदी किनारको तिप्ल्याङ बजारसँगै कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक र दोसल्ले हुँदै हिस्तान–राम्चे जोड्ने सडकमा समेत असर पुग्ने जनप्रतिनिधिले जनाएका छन् ।
जोखिमको वास्तविक अवस्था र पहिरोको सम्भावित प्रभावबारे प्राविधिक अध्ययनपछि थप आवश्यक कदम चालिने जनाइएको छ ।



