धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा लगाइएको झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् । भोलिदेखि सुरू हुने नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उदघाटन गर्न कांग्रेस सभापति देउवासहितका नेताहरू धनगढी आउने भएपछि नेविसंघका विद्यार्थीहरुले सडक क्षेत्रमा पार्टीका झण्डा राखेका थिए ।सुदूरपश्चिम प्रदेश सरकारले अगाडि बढाएको ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१ ले तनाव बढेको छ । विधेयकले सीमित कर्मचारीलाई लाभ पुग्ने भन्दै विद्यार्थी र केही राजनीतिक दलका प्रतिनिधिले आइतबार पनि आन्दोलन जारी राखेका छन् । उनीहरूले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि प्रदर्शन गरिरहेका छन् । सोही क्रममा आन्दोलनरत पक्ष र नेपाली कांग्रेसनिकट तरुण दलबीच सामान्य झडप पनि भएको छ ।

आन्दोलनरत विद्यार्थीले नेपाली कांग्रेसले सडकमा लगाएको झण्डा हटाएपछि झडप भएको हो । कांग्रेसको सुदूरपश्चिम सम्मेलनका लागि सोमबार पार्टी सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरू धनगढी आइरहेका छन् । उनीहरूको स्वागतमा धनगढीको छ लेन सडक र मुख्य सडकमा कांग्रेसले झण्डा झुण्ड्याएको छ । ती झण्डाहरू हटाएपछि तरुण दलका केही युवाहरू आएर आफूहरूमाथि कुटपिट भएको आन्दोलनरत पक्षले बताएको छ ।

१३ जेठ २०८१ मा सुदूरपश्चिमका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री शिवराज भट्टले प्रदेशसभामा ‘सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०८१’ प्रस्तुत गरेका थिए । २५ जेठको बैठकमा विधेयकमाथि सामान्य छलफल भयो । २९ साउनमा दफावार छलफलका लागि उक्त विधेयक विधायन तथा प्रदेश मामिला समितिमा पठायो । समितिले उक्त विधेयकमा छलफलका लागि २८ वटा बैठक ग¥यो । बैठकपछि तयार पारिएको प्रतिवेदन सभामुख भीम भण्डारीलाई पनि बुझाइसकेको छ । प्रदेश स्थानीय सेवा ऐन लागू हुनुभन्दा पहिलेका स्वीकृत स्थायी दरबन्दीमा अस्थायी वा करारको रूपमा नियुक्त भएकाहरूलाई पहिलोपटकका लागि उनीहरूबीच नै छुट्टै आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा प्रदेश लोक सेवा आयोगले पदपूर्ति गर्ने व्यवस्था विधायन तथा प्रदेश मामिला समितिले पारित गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । यो व्यवस्थाले सीमित कर्मचारीलाई फाइदा पुग्ने कतिपयको तर्क छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय