फागुन २१ गते प्रतिनिधिसभा चुनाव हुने तय छ। तर जेनजी आन्दोलनका बेला कारागारबाट फरार भएका कैदीबन्दी र लुटिएका हतियारले सुरक्षा चुनौती बढाएको प्रदेश सरकारको चिन्ता छ। तर गृहमन्त्री ओमप्रकाश अर्याल भने निर्वाचन तोकिएकै मितिमा, निष्पक्ष र भयरहित वातावरणमा हुने दाबी गरिरहनु भएको छ । सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई धनगढीमा सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन तयारीबारे धारणा राख्नुभयो । सरकारले पाएको म्यान्डेट नै समयमै चुनाव सम्पन्न गर्नु भएकाले कुनै भ्रम नराख्न अर्यालको आग्रह छ । तर प्रदेश सरकार भने अस्थिर सुरक्षा परिस्थितिप्रति चिन्तित देखिन्छ। भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभरबाट ४ हजार ५५२ कैदीबन्दी र बालबन्दी फरार छन्। कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगजस्ता अपराधमा संलग्न कैदी पनि अझै फिर्ता भइसकेका छैनन्। यसले प्रदेश सरकारलाई निर्वाचन भयरहित वातावरणमा हुन्छ भन्नेमा शंका छ ।

गृहमन्त्री अर्यालले फरार कैदीबन्दी पक्राउ र लुटिएका हतियार खोजतलासलाई सरकारले तीव्र बनाएको जवाफ दिनुभयो । उहाँले राजनीतिक दलले निर्वाध रूपमा गतिविधि गर्न पाउने वातावरण बनाउन सरकार पूर्ण रूपमा सक्रिय रहेको भन्दै आश्वस्त पार्ने प्रयास गर्नुभयो । देशभर १० हजार ३६९ मतदान केन्द्र रहनेछन्। जेनजी आन्दोलनपछि धेरै प्रहरी कार्यालय क्षतिग्रस्त भएका कारण सुरक्षा संवेदनशीलता पहिलाभन्दा बढ्ने अनुमान छ। मुख्य चुनौती फरार कैदीबन्दी र लुटिएका हतियार भएकाले त्यही अनुरूपको सुरक्षा मोडालिटी अपनाउने तयारी भइरहेको छ। सुरक्षा चुनौतीबीच चुनावको मिति नजिकिँदै गर्दा सरकार र सुरक्षा निकायको सक्रिय भूमिका आगामी निर्वाचनको विश्वसनीयताका लागि निर्णायक मानिँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय