धादिङ । धादिङको गल्छी गाउँपालिका-३ गुप्तेश्वरभिरस्थित भित्री सडकमा ट्याङ्कर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। दमघाटबाट गुप्तेश्वर मन्दिरतर्फ पानी लिएर जाँदै गरेको बा.प्र ०१-००४ क ३३५२ नम्बरको पानी ट्याङ्कर ब्याक गर्ने क्रममा सडकबाट करिब ५०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
दुर्घटनामा परी गजुरी गाउँपालिका-६ का १८ वर्षीय प्रशान्त चेपाङ र २० वर्षीय जयराम चेपाङको मृत्यु भएको छ। उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिएका छन्।



त्यसैगरी, दुर्घटनामा गम्भीर घाइते भएका गजुरी गाउँपालिका-६ का १९ वर्षीय सिरिश चेपाङ र १७ वर्षीय सुरेश चेपाङलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।



