धादिङ- लगातारको वर्षापछि धादिङको नीलकण्ठ नगरपालिका–२ भुलभुले क्षेत्रमा गएको पहिरोले चार परिवार विस्थापित भएका छन् भने सदरमुकाम धादिङबेसीका करिब दुई हजार ५ सय घरधुरीको खानेपानी सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ। पँधेरो खोल्चा डाँडा क्षेत्रमा जमिन चिरिएर ठूलो पहिरो खस्न थालेपछि स्थानीय बस्ती उच्च जोखिममा परेको हो।
पहिरोले दिलबहादुर गुरुङको घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। त्यस्तै गोविन्द श्रेष्ठ, हिराबहादुर श्रेष्ठ र अमृत गुरुङका घरमा चर्को क्षति पुगेपछि ती परिवारलाई सुरक्षित स्थानमा सारिएको छ। स्थानीयका अनुसार पहिरोका कारण करिब २०० रोपनी खेतीयोग्य जमिनसमेत प्रभावित भएको छ। भुलभुले गाउँको माथिल्लो भाग र नेवार खोल्चा क्षेत्रमा समेत पहिरो झर्ने क्रम नरोकिएकाले थप बस्ती जोखिममा पर्ने चिन्ता बढेको छ।



पहिरोले नीलकण्ठ नगरपालिका–२ स्थित मुहानदेखि मूल वितरण ट्याङ्कीसम्म पानी ल्याउने करिब एक हजार ३०० मिटर लामो मुख्य पाइपलाइन बगाएको छ। पाइपलाइन क्षतिग्रस्त भएपछि धादिङबेसीमा खानेपानी आपूर्ति पूर्ण रूपमा बन्द भएको नीलकण्ठ नगर खानेपानी, सरसफाइ तथा स्वच्छता बोर्डका अध्यक्ष शिव अधिकारीले जानकारी दिए। उनका अनुसार खानेपानी सेवा अवरुद्ध हुँदा सदरमुकामका करिब दुई हजार ५ सय घरधुरी प्रत्यक्ष प्रभावित भएका छन्।
यसैबीच, प्रदेश सरकार र नीलकण्ठ नगरपालिकाको साझेदारीमा करिब ६५ लाख रुपैयाँको लागतमा निर्माण गरिएको ६ सय घनमिटर क्षमताको तारजाली संरचनासमेत पहिरोले बगाएको छ। यसले पहिरो नियन्त्रणका लागि गरिएको पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ। स्थानीय भरतबहादुर गुरुङले निरन्तर वर्षा भइरहेकाले पहिरो अझ फैलिने जोखिम रहेको बताए। उनले जोखिममा रहेका बस्तीका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण, राहत वितरण तथा पहिरो नियन्त्रणका लागि प्रभावकारी उपाय अपनाउन सरकारसँग माग गरे।
घटनापछि नीलकण्ठ नगरपालिकाका प्रमुख भीम ढुंगाना, उपप्रमुख दीपक विश्वकर्मा, जिल्ला प्रहरी कार्यालय धादिङ तथा नीलकण्ठ खानेपानी तथा स्वच्छता व्यवस्थापन बोर्डका प्रतिनिधिहरूले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्। नगर प्रमुख ढुंगानाले नागरिकको जीउधनको सुरक्षा पहिलो प्राथमिकता रहेको भन्दै क्षतिग्रस्त खानेपानी पाइपलाइन मर्मत, सेवा पुनः सञ्चालन, जोखिममा रहेका बस्तीको संरक्षण तथा दीर्घकालीन पहिरो नियन्त्रणका लागि प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरी आवश्यक काम तत्काल अघि बढाइने बताए।
निरीक्षणपछि जनप्रतिनिधि तथा सरोकारवाला निकायले खानेपानी सेवा यथाशीघ्र सुचारु गर्ने, प्रभावित परिवारलाई आवश्यक राहत उपलब्ध गराउने र जोखिमयुक्त बस्तीको दीर्घकालीन संरक्षणका लागि आवश्यक योजना कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।



