काठमाडौं । विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपाल GSPSS ले नेपालमा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव, राष्ट्रिय एकता, सहिष्णुता र शान्तिपूर्ण वातावरण सुदृढ बनाउन सबै नेपालीमा आह्वान गरेको छ ।
समाजका महासचिव मिना सापकोटा, नेपाल संयोजक जगनाथ ढकाल तथा संरक्षक योगी बालाचारी रञ्जन शर्माद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा नेपाल भगवान् बुद्धको जन्मभूमि, भगवान् शिवको तपोभूमि तथा बहुधार्मिक सहअस्तित्वको अनुपम भूमि भएको उल्लेख गर्दै विश्वलाई शान्ति, करुणा र मानवताको सन्देश दिँदै आएको जनाएको छ । साथै, यस गौरवशाली विरासतको संरक्षण गर्नु सबैको साझा दायित्व भएको पनि उल्लेख गरिएको छ ।



समाजले पछिल्लो समय समाजमा बढ्दो असहिष्णुता र सामाजिक तनावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै आफ्नो मूल उद्देश्य विज्ञान, प्रेम, करुणा, सत्य, क्षमा र शान्तिको प्रवद्र्धन रहेको जनाएको छ । यसका लागि नेपाल सरकार, सबै धर्मका धार्मिक अगुवा, विद्वान्, नागरिक समाज तथा सरोकारवालाको सहभागितामा राष्ट्रिय संवाद तत्काल सुरु गर्न आग्रह गरिएको छ ।
समाजले सनातन, वैदिक, किराँत, इस्लाम, क्रिश्चियन, बौद्ध, जैन लगायत सबै धर्म र आस्थाका अनुयायीलाई एकअर्काको विश्वासको सम्मान गर्दै सामाजिक सद्भाव, सहअस्तित्व र राष्ट्रिय एकतालाई अझ सुदृढ बनाउन आह्वान गरेको छ । समावेशी र शान्तिपूर्ण संवादको सहजीकरण तथा समन्वय गर्न समाज पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि जनाएको छ ।
समाजले सम्पूर्ण नेपालीलाई जात, धर्म र विचारभन्दा माथि उठेर प्रेम, सहिष्णुता र मानवताको साझा मूल्य आत्मसात् गर्दै समृद्ध, शान्तिपूर्ण र सभ्य नेपाल निर्माणमा हातेमालो गर्न आग्रह गरेको छ ।
समाजले “हामी पहिले नेपाली हौँ” भन्ने सन्देशलाई आत्मसात् गर्दै नेपाललाई पुनः विश्वगुरुको गौरव स्थापित गर्ने अभियानमा सबैलाई एकताबद्ध हुन पनि आह्वान गरेको छ ।



