काठमाडौं । अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्डअन्तर्गतको काभ्रेपलाञ्चोकको जनागाल–भैँसेपाटीमा कालोपत्र सुरु गरिएको छ । वर्षाका कारण रोकिएको उक्त सडकखण्डमा बनेपा नगरपालिका–१० स्थित जनागाल क्षेत्रमा कालोपत्र सुरु गरिएको हो ।
भदौमा ‘सिसटीबी’को काम सकेर कालोपत्रे सुरु गरिएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको छ । यसअघि असार र साउनमा मनसुनका कारण विस्तार रोकिएको थियो ।
आयोजनाका अनुसार साँगातर्फ ‘सिटिबी’को काम भएपछि लगातार कालोपत्रेलाई निरन्तरता दिइनेछ । बनेपाको पुलबजार क्षेत्रमा भने करिब छ महिनादेखि स्थानीयको अवरोधका कारण काम ठप्प छ ।
हाल बनेपाको पूर्वीतर्फको चण्डेश्वरी खोलादेखि बनेपा चारदोबाटोसम्म करिब एक किमी सडकमा ढल निर्माण भइरहेको छ । पुलबजारबाहेकको सूर्यविनायकदेखि धुलिखेलसम्मको अन्य स्थानमा भने छोटो खण्ड–खण्डमा काम भइरहेको छ । हाल एक किमी क्षेत्रमा सडक पक्की बनाइनाका साथै वाल, ड्रेन, पेवमेन्टको काम सकिएको छ भने केही दिनमा नै बनेपातर्फको सडक कालोपत्रको तयारी भइरहेको छ । साथै अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार समयमा नै नसकिने भएको छ । आयोजनाले बाँकी करिब चार महिनामा विस्तार नसकिने जनाएको हो । विसं २०७९ पुस २४ देखि सुरु गरिएको १६ किलोमिटर लम्बाइको यस सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोही अनुसार ठेक्का सम्झौता भई विस्तार भइरहेको छ ।
हाल दुई खण्डमध्ये सूर्यविनायक–साँगा खण्डको ४० प्रतिशत र साँगा–धुलिखेल खण्डमा ५० प्रतिशत काम सकिएको आयोजनाको भनाइ छ ।
आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तारका लागि पहिलो चरणमा साँगा–धुलिखेलका लागि चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो ।






