नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको छ । बुधबार सरकारी वकिलको कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो । अभियुक्तहरुविरुद्ध ठगी, कीर्ते, संगठित र राज्यविरूद्धको
मुद्दा लगाइएको छ ।
अभियोग पत्रमा २७ करोड २१ लाख बिगो माग गरिएको छ । नक्कली भुटानी प्रकरणमा पूर्वउपप्रधानमन्त्री एवं एमाले नेता तथा प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाँण, पूर्वसभासद आङटावा शेर्पा, गृह मन्त्रालयका तत्कालिन सचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायत ३० जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो ।



मुद्दा दर्ता गरिएकामध्ये १६ जना पक्राउ परेका छन् भने १४ जना फरार छन् । प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १४ जना अझै फरार छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने आसमा सयौँ नागरिकहरुको करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबारनै जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो ।



