काठमाडौं । उच्च अदालत पाटनले आज नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाको आदेश गर्ने भएको छ । मुद्दाको पुनरावलोकन हुनुपर्ने भन्दै परेको निवेदनमाथि बहस बिहीबार सकिएपनि शुक्रबार आदेश गर्ने भनि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो ।
मंसिर ५ गतेदेखि निरन्तर थालिएको मुद्दाको सुनुवाइ बिहीबार प्रतिवादीतार्फका कानून व्यवसायीले जवाफी बहस सकेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका लैजान खोजिएको भन्दै २० जनाविरुद्ध मुद्दा चलिरहेको छ । जसमध्ये १७ जना थुनामा छन् भने ३ जना जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गरेको छ । पदीय दुरुपयोग गरी नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर २८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको भन्दै जिल्ला अदालत काठमाडौंले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलगायतलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।



धरौटीमा छाडिएकामध्ये दुईजनाविरुद्ध सरकारी वकिल कार्यालयले पनि पुनरावेदन निवेदन दिएको छ । उनीहरूविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर, लिखत सम्बन्धी कीर्ते र एकीकृत कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ ।



