काठमाडौं । चन्द्रागिरि नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा नसर्ने रोगहरूको समयमै पहिचान तथा रोकथाम गर्ने उद्देश्यले एक महिने “नसर्ने रोग पहिचान अभियान–२०८२” सञ्चालन गरिएको छ ।



पछिल्लो समय मधुमेह, उच्च रक्तचाप, मृगौला सम्बन्धी समस्या जस्ता नसर्ने रोगहरू बढ्दै गइरहेको सन्दर्भमा नगरवासीलाई सचेत बनाउँदै प्रारम्भिक चरणमै रोग पत्ता लगाउने लक्ष्यसहित यो अभियान सुरु गरिएको हो । यस अभियान अन्तर्गत नगरपालिकाका विभिन्न वडाहरूमा निःशुल्क स्वास्थ्य परीक्षण शिविरहरू सञ्चालन गरिने छन् । शिविरमा मधुमेह परीक्षण, रक्तचाप मापन, मृगौला सम्बन्धी जाँच तथा उचाइ र तौलका आधारमा बीएमआई मापन गरिने स्वास्थ्य शाखाले जनाएको छ । यस प्रकारका परीक्षणहरूले व्यक्तिको स्वास्थ्य अवस्थाबारे प्रारम्भिक जानकारी दिनुका साथै भविष्यमा हुन सक्ने जटिल समस्याबाट जोगिन सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
अभियान अन्तर्गत विहीबार चन्द्रागिरि नगरपालिका वडा नं. ५ मा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ, जहाँ स्थानीय बासिन्दाहरूले उत्साहजनक सहभागिता जनाएका छन् । स्वास्थ्यकर्मीहरूको टोलीले शिविरमा आएका नागरिकहरूको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक परामर्श समेत प्रदान गरेका छन् । नगरपालिकाले सम्पूर्ण स्थानीय बासिन्दाहरूलाई आफ्नो पायक पर्ने स्थानमा रहेका महिला स्वास्थ्य स्वयंसेविकासँग सम्पर्क गरी शिविरमा सहभागी हुन आग्रह गरेको छ । समयमै स्वास्थ्य परीक्षण गराउँदा नसर्ने रोगहरू प्रारम्भिक चरणमै पहिचान गर्न सकिने भएकाले यस अभियानबाट अधिकतम लाभ लिन सबैलाई अनुरोध गरिएको छ ।
यस किसिमका जनस्वास्थ्य कार्यक्रमहरूले समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ र समृद्ध समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।



