काठमाडौं । रत्ननगर नगरपालिकामा जनप्रतिनिधिबाट सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत भएको छ । नगर प्रमुखले आफ्नै सेवा–सुविधाबाट प्राप्त रकम प्रयोग गरी विपन्न परिवारको स्वास्थ्य सुरक्षामा योगदान दिनुभएको छ ।

नगर प्रमुख प्रह्लाद सापकोटाले हालै वडा कार्यालयहरूको सिफारिसका आधारमा छनोट गरिएका ३७ अति गरिब परिवारको स्वास्थ्य बिमा गरिदिएका हुन् । ती परिवारको बिमा शुल्क उहाँले आफ्नो पछिल्लो तीन महिनाको तलब तथा भत्ताबाट व्यहोरेका छन् ।

यसअघि पनि उहाँले व्यक्तिगत स्रोतबाट करिब २ सय परिवारलाई निःशुल्क स्वास्थ्य बिमा उपलब्ध गराइसकेका छन् । नगरस्तरमा ठूलो संख्यामा नागरिकलाई स्वास्थ्य बिमाको पहुँचमा ल्याउने उद्देश्यले वार्षिक रूपमा करिब ३ हजार ५ सय परिवारलाई समेट्ने कार्यक्रम अघि बढाइएको भए पनि ‘जेनजी आन्दोलन’ पछि उक्त योजना स्थगित भएको थियो ।

नगरपालिकाले अनावश्यक खर्च नियन्त्रण गर्ने उद्देश्यले औपचारिक कार्यक्रमहरूमा खादा तथा ‘मायाको चिनो’ नलिने नीति लागू गरेको छ । विभिन्न संघ–संस्थाले उपलब्ध गराउन चाहेको यस्ता उपहारको मूल्य बराबरको रकम स्वास्थ्य शाखाको कोषमा जम्मा गरी सामाजिक कार्यमा प्रयोग गर्ने व्यवस्था गरिएको छ । यही कोषमार्फत स्वास्थ्य बिमा र अन्य जनहितका कार्यक्रम सञ्चालन भइरहेका छन् ।

शिक्षा क्षेत्रमा पनि नगर प्रमुख सापकोटाले व्यक्तिगत रूपमा सहयोग गर्दै आउनु भएको छ । उहाँले आफ्नै तलबबाट विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री र खेलकुद पोशाक वितरण गर्नुका साथै एक सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आउनु भएको छ ।

स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि नगरपालिकाले विपन्न नागरिकका लागि उपचार सहज बनाउन ३० लाख रुपैयाँको ‘स्वास्थ्य उपचार अक्षयकोष’ स्थापना गर्नुभएको छ । साथै विभिन्न अस्पतालहरूसँग समन्वय गरी उपचारमा सहयोग गर्ने व्यवस्था मिलाइएको छ भने स्थानीय स्तरमै निःशुल्क रक्तसञ्चार सेवा समेत सञ्चालनमा ल्याइएको छ ।

नगर प्रमुख सापकोटाले स्वास्थ्य र शिक्षा नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै राज्यले यी सेवा सबैका लागि सहज र निःशुल्क बनाउनुपर्ने धारणा राख्नुभएको छ । आगामी आर्थिक वर्षमा विपन्न समुदाय लक्षित स्वास्थ्य बिमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउने लक्ष्य रहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय