काठमाडौं । कम्पनी दर्ता गर्ने प्रक्रिया अब थप सहज र छिटो हुने भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयले आफ्नो विद्युतीय सेवा प्रणालीलाई आन्तरिक राजस्व विभागसँग एकीकृत गर्दै नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको जनाएको छ ।

कार्यालयले नयाँ प्रणाली संचालनमा आएसँगै अब कम्पनी दर्ता गर्ने सेवाग्राहीले स्थायी लेखा नम्बर (प्यान) प्राप्त गर्न वा प्यान प्रमाणपत्र लिन छुट्टै राजस्व कार्यालय पुग्नुपर्ने आवश्यकता रहने छैन । कम्पनी दर्ता सम्पन्न भएपछि प्यान नम्बर र त्यसको आधिकारिक प्रमाणपत्र कार्यालयको ‘केमिस (CAMIS)’ प्रणालीबाटै डाउनलोड तथा प्रिन्ट गर्न सकिने व्यवस्था गरिएको छ ।

यसका लागि कम्पनी रजिष्ट्रारको कार्यालय र आन्तरिक राजस्व विभागबीच गत ३१ वैशाखमा विद्युतीय प्रणाली एकीकृत गर्ने समझदारी भएको थियो । सोही सहमतिअनुसार विकास गरिएको प्रणाली अहिले पूर्णरूपमा संचालनमा आइसकेको कार्यालयले जनाएको छ ।

नयाँ व्यवस्थाले कम्पनी दर्ता र करसम्बन्धी प्रारम्भिक प्रक्रिया एउटै डिजिटल प्रणालीमार्फत सम्पन्न हुने भएकाले सेवाप्रवाह थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ । यसबाट सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै अनावश्यक कागजी प्रक्रिया र कार्यालय धाउनुपर्ने झन्झट पनि कम हुने विश्वास गरिएको छ ।

यसअघि भने कम्पनी दर्ता गरेपछि प्यान नम्बर लिन सेवाग्राहीले आवश्यक कागजातसहित आन्तरिक राजस्व कार्यालयमा छुट्टै प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय