गत साउन ११ गते एकाएक बेपत्ता भएका सिन्धुलीका हायु परिवार पोखरामा त फेला परे तर घर नफर्कने भन्दै आफ्नो अडान राख्दै आएका थिए । यस्तैमा वडा अध्यक्षले नयाँ घर बनाएर सार्ने आश्वासन दिएपछि अन्तत् हायु परिवार सिन्धुली फर्कन तयार भए र उनीहरू सोमबार नै फर्किए ।



नेपाल सरकारको लोपुन्मुख सूचीमा रहेका हायु जातिका एक परिवार गत साउन ११ गते सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ छेत्पाबाट परिवारका १९ जना सदस्य नै बेपत्ता भएका थिए । उनीहरूको बेपत्ताको खबरले एकैछिनमा देश पिट्यो र सुरक्षा चुनौतीको विषय पनि बन्यो । अन्तत उनीहरू पोखराको गगनगौडाबाट फेला परे । सरकारले दिने भत्ता बुझेर एकाएक पोखरा आएका उनीहरू कहिले पनि सिन्धुली नफर्कने अडानमा थिए । जे काम पाइन्छ पोखरामै गर्ने उनीहरूले बताएपछि पोखरा महानगरपालिकाले पनि उनीहरूलाई सुहाउँदो कामको खोजी गर्दै थियो । यता उनीहरूलाई सिन्धुली नै फर्काउन गोलन्जोर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रबिन श्रेष्ठ पोखरा नै आए । लामो समयको वार्तापछि उनीहरू वडाध्यक्ष श्रेष्ठसँगै आफ्नै पुख्र्यौली थाकथलो सिन्धुलीको गोलन्जोर फर्कन तयार भएका हुन् ।
पोखराको गगनगौडा स्थित सोमनाथ पौडेल र चन्द्र भण्डारीको घरमा आश्रय लिइरहेका हायु परिवार पुरानो घरमा रहँदा बिरामी भइरहने र धामीले त्यहाँ नबस्ने भनेपछि पोखरा आएका थिए । वडा अध्यक्षले नयाँ घर बनाइदिने र रोजगारीको समेत सिर्जना गरिदिने प्रतिबद्धता दिएपछि उनीहरू सोमबार नै सिन्धुली फर्किएका छन् । अर्को व्यवस्था नहुँदासम्म उनीहरूलाई वडाध्यक्ष श्रेष्ठकै अर्को घरमा राख्ने र तत्काल नै अर्को बासस्थानको खोजी गर्ने गरी काम अगाडि बढाएको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष रबिन श्रेष्ठ बताउँछन् ।
परिवार धान्नकै लागि लिएको ऋण तिर्ने विषयमा समेत वडाले सहजीकरण गरिदिने भएपछि हायु परिवार जन्मथलो फर्कन तयार भएको हो । यता लोपन्मुख जाति अझ त्यसमा पनि पुरै परिवार नै पोखरा आएर आफ्नो बलबुताले भ्याएसम्म काम गर्ने जनाएपछि पोखरा महानगरपालिकासहित विभिन्न सामाजिक संघसंस्थाले उनीहरूको रेखदेख गर्ने विषयमा काम अगाडि बढाएका थिए । तर अहिले उनीहरू आफ्नै गाउँ फर्किन्छु भनेपछि पोखरा महानगरपालिकाले नै सिन्धुली जानको लागि बसको व्यवस्था गरेर पोखरा वडा नम्बर ३० बाट उनीहरूलाई बिदा गरिदिएको छ ।
सरकारले दिएको भत्ता लिएर बिना जानकारी एकाएक बेपत्ता हुनु र त्यसभित्रका रहस्यका विषयमा थप अनुसन्धानले प्रष्ट पार्दै जाला तर लोपन्मुख र समस्याग्रस्त परिवार भएकै कारण गाउँ छोड्नुपर्ने बाध्यता भने अवश्य नै हट्नुपर्छ । हायु परिवारको खोजी, उनीहरूको उद्धार र आवश्यक सहयोग गर्ने र गाउँ फर्काउने विषयमा सिन्धुलीको गोलन्जोर गाउँपालिकाका जनप्रतिनिधि र पोखरा महानगरपालिकाका मेयर सहित पोखरा वडा नम्बर ३० को सक्रियतालाई स्याबास भन्नैपर्छ ।



