काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) बाट करिब ३ सय जना निर्वाचन प्रहरी स्याङ्जा पठाइएको छ । जिल्लामा आवश्यकताभन्दा बढी आवेदन परेपछि वैकल्पिक सूचीमा रहेका २९० जनालाई स्याङ्जा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक युवराज खड्काले जिल्लाका लागि १ हजार ७ सय ४२ जना निर्वाचन प्रहरी छनोट गरिएको छ । छनोटमा परेकालाई १० दिने तालिमपछि निर्वाचन सुरक्षामा खटाइनेछ । हाल जिल्लाका विभिन्न स्थानमा प्रहरी निरीक्षकको नेतृत्वमा तालिम सञ्चालन भइरहेको छ ।



यसैबीच, जिल्लाका ११ मतदानस्थललाई अतिसंवेदनशील, ५० वटा संवेदनशील र ५३ वटा सामान्यको रूपमा वर्गीकरण गरिएको छ। जिल्लामा ११४ मतदानस्थलका ३११ मतदान केन्द्रमा मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ।
निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिने छ। मतदान केन्द्रको प्रत्यक्ष सुरक्षामा नेपाल प्रहरी र निर्वाचन प्रहरी, वरिपरि सशस्त्र प्रहरी तथा बाहिरी घेरामा नेपाली सेना रहने व्यवस्था गरिएको छ।



