काठमाडौं । नेपालको पहिलो आधुनिक यातायात सुरुङमार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ को आज औपचारिक रूपमा उद्घाटन गरिँदै छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण र नेपाल सरकारको संयुक्त लगानीमा चन्द्रागिरि नगरपालिकामा निर्माण भएको यस आयोजनाको कूल लागत करिब १९ अर्ब रुपैयाँ रहेको छ । सडक विभागका अनुसार मुख्य सुरुङको लम्बाई २ दशमलव ६८ किलोमिटर रहेको छ । यद्यपि सुरुङभित्रको निकास मार्ग (इभ्याकुएसन टनेल) र क्रस–प्यासेजहरू समेत गणना गर्दा कूल सुरुङको लम्बाई करिब ५ दशमलव ५ किलोमिटर पुग्छ । जापानी निर्माण कम्पनी ‘हाज्मा आन्दो कर्पोरेसन’ ले २०७६ सालदेखि यस आयोजनाको निर्माण शुरु गरेको थियो । आयोजनाको उद्घाटन पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी रहेको छ ।
उद्घाटनपश्चात तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारी साधनलाई मात्र सुरुङमा प्रवेश दिइने विभागले जनाएको छ । विभागका अनुसार सुरुङमार्गलाई चरणवद्ध रूपमा पूर्ण सञ्चालनमा ल्याइने छ । उद्घाटनको एक साताभित्र सुरुङभित्र हुनसक्ने सम्भावित दुर्घटना वा आगलागी जस्ता विपद्को पूर्वतयारी स्वरूप नमूना अभ्यास गरिनेछ । उक्त अभ्यास सफल भएपछि करिब एक हप्ताका लागि परीक्षणका रूपमा एकतर्फी सञ्चालन गरिनेछ । सोही अवधिमा सुरुङभित्रका जेट फ्यानहरूको अवस्था, वायु उत्सर्जन र गतिको प्राविधिक जाँच गरी करिब एक महिनाभित्र मात्रै सुरुङमार्ग पूर्ण रूपमा सञ्चालनमा ल्याइने विभागले योजना बनाएको हो ।



नागढुङ्गाको कठिन उकालो र पहिरोको जोखिमबाट जोगाई यात्रालाई सहज बनाउने विश्वास गरिएको यो सुरुङमार्गलाई नेपालको सडक पूर्वाधारको क्षेत्रमा ठूलो उपलब्धि मानिएको छ ।



