काठमाडौं । देशकै बहुप्रतीक्षित पूर्वाधार आयोजना नागढुंगा–सुरुङ मार्ग निर्माण विभिन्न सरकारहरूको निरन्तरता, नीतिगत निर्णय र अन्तर्राष्ट्रिय सहकार्यको परिणामका रूपमा अघि बढेको आयोजना हो । एउटै सरकारले निर्माण सम्पन्न गराएको वा सम्पूर्ण श्रेय लिन मिल्ने परियोजना नभई, यसको अवधारणा, वित्तीय व्यवस्थापन, निर्माण प्रक्रिया र अन्तिम चरणसम्मको यात्रा विभिन्न प्रधानमन्त्रीको कार्यकालमा क्रमिक रूपमा अघि बढेको देखिन्छ ।

उपलब्ध तथ्यअनुसार २०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा सुरुङ मार्गको अवधारणा सार्वजनिक भएको थियो । त्यसपछि २०७० देखि २०७२ सम्म प्रधानमन्त्री सुशील कोइरालाको कार्यकालमा जापानसँग आवश्यक सहकार्य र तयारी प्रक्रिया अगाडि बढाइएको थियो ।

त्यसैगरी २०७३ सालमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा जापानसँग करिब १६ अर्ब रुपैयाँभन्दा बढीको सहुलियतपूर्ण ऋण सम्झौता गर्ने निर्णय भएको थियो, जसले परियोजनाको वित्तीय आधार सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ । प्रचण्डकै पालामा सुरुङ मार्ग ब्रेक थु्र भएको थियो ।

२०७६ सालमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा जापानी निर्माण कम्पनीसँग ठेक्का सम्झौता भई सुरुङ मार्गको निर्माण कार्य औपचारिक रूपमा सुरु भयो । त्यसपछि २०८२ सालमा प्रधानमन्त्री केपी शर्मा ओलीकै कार्यकालमा सुरुङ मार्ग संचालनका लागि उद्घाटनको चरणमा पुगेको थियो ।

यसरी हेर्दा नागढुंगा–सुरुङ मार्ग कुनै एक सरकारको उपलब्धि मात्र नभई, विभिन्न राजनीतिक नेतृत्वले आ–आफ्नो समयमा गरेका नीतिगत निर्णय, अन्तर्राष्ट्रिय समन्वय, वित्तीय व्यवस्थापन र निर्माण प्रक्रियाको निरन्तरताबाट सम्भव भएको राष्ट्रिय गौरवको पूर्वाधार आयोजना हो ।

यद्यपि पछिल्लो समय सार्वजनिक बहस र राजनीतिक अभिव्यक्तिहरूमा परियोजनाको अन्तिम उपलब्धिलाई मात्र बढी जोड दिइने र प्रारम्भिक चरणदेखि योगदान पुर्याएका अघिल्ला सरकारहरूको भूमिकालाई गौणमा राख्न खोजेको पाइन्छ । यस्ता राष्ट्रिय परियोजनाको मूल्यांकन गर्दा श्रेय र जिम्मेवारी दुवैलाई तथ्यका आधारमा सबै सम्बन्धित पक्षसँग जोडेर हेर्नुपर्ने मत पूर्वाधार विज्ञहरूले राख्दै आएका छन् ।

राष्ट्रिय महत्वका पूर्वाधार आयोजनाहरूको सफलता सामान्यतया सरकार परिवर्तनसँगै रोकिने होइन, बरु नीतिगत निरन्तरता र संस्थागत प्रतिबद्धताबाट सम्भव हुने भएकाले यस्ता परियोजनाको मूल्यांकन गर्दा सबै चरणको योगदानलाई समान रूपमा स्मरण गर्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय