काठमाडौं । नेपालको पहिलो राष्ट्रिय गौरबको आयोजना नागढुंगा सिस्नेखोला सुरुङमार्ग संचालनको तयारी हुँदै गर्दा जापानबाट आएको जाईकाको विशेष प्रतिनिधि मण्डलले नागढुंगा सिस्नेखोला सुरुङमार्ग प्रभावित क्षेत्र खानेपानी उपभोक्ता समितिसँग छलफल गरेको छ ।




छलफलको क्रममा समितिका अध्यक्ष गोपी सुर्खेतीले जाइकाका प्रतिनिधि मण्डललाई प्रभावित क्षेत्रका मागहरुबारे जानकारी गराउनु भएको थियो । सुर्खेतीले पीडितको गुनासो सुन्न जापानदेखि नेपालसम्म आई पीडितको गुनासो सुनिदिएकोमा प्रतिनिधि मण्डललाई विशेष धन्यवाद दिनुभएको थियो । उहाँले लामो समयदेखि पीडितको पक्षमा माग सम्बोधन हुन नसकेको र अबका दिनमा संघर्ष गर्न नपर्नेमा आफु विश्वस्त रहेको उल्लेख गर्नुभयो । संघर्ष समितिका अध्यक्ष सुर्खेतीले आफुहरुले आयोजनालाई पहिले देखि नै आठ बुँदे माग राख्दै आएको पनि जानकारी गराउनु भयो ।

जापानीज प्रतिनिधिले स्थलगत निरिक्षण गरी प्रभावितको गुनासो तथा मागलाई जाईकाका अध्यक्षलाई रिपोर्ट बुझाउने र सोको जानकारी जाईकाको आधिकारिक वेवसाईडमा राख्ने समेत प्रतिबद्धता जनाएका छन् ।

जाइका प्रतिनिधि मण्डल र प्रभावित क्षेत्रका बासिन्दाहरुले सुरुङ मार्गले प्रभाव पारेको भनिएका स्थानको स्थलगत निरिक्षण गरेका थिए ।
यस्ता छन् मागहरु
१. खानेपानी आयोजनाको संचालनको जिम्मेवारी ग्यारेन्टी गरिनुपर्ने ।
२. चर्किएका सम्पूर्ण घरहरुको उचित क्षतिपूर्तिको व्यवस्था गरिनु पर्ने ।
३. खेतीयोग्य जमीनमा सिंचाईको वैकल्पिक व्यवस्था गरिनु पर्ने ।
४. सुरुङ्गको पश्चिम पोटलमा बगिगएको प्राकृतिक पानीलाई प्रभावित क्षेत्रमा ल्याउने व्यवस्था गरिनुपर्ने ।
५. Supplementary मा गर्ने भनिएको योजना पुरा गर्ने ग्यारेन्टी हुनुपर्ने ।
६. योग्यता र क्षमताको आधारमा प्रभावित क्षेत्रका बासिन्दालाई रोजगारीको ग्यारेन्टी हुनुपर्ने ।
७. विग्र्रिएका पम्पहरु तत्काल मर्मत गरिनु पर्ने र अन्य संरचना मर्मतमा भएको खर्च तत्काल निकासा गरिनुपर्ने ।
८. विस्तृत अध्ययन अनुसन्धानविना नै सामान्य ज्ञानसम्म नराखी झण्डैझण्डै Allignment सँगसँगै पनि पानी आउँछ भनि बोरिङको स्वीकृति गर्ने र खानेपानी आयोजना निर्माणमा भएको अनियमितता छानविनको लागि समिति गठन गरी दोषिलाई कारवाही गर्ने ग्यारेन्टी हुनुपर्ने ।




