काठमाडौं । भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालले राष्ट्रिय गौरवको आयोजना नागढुंगा–सिस्नेखोला सुरुङ मार्गसँग सम्बन्धित पीडित पक्षका जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

सुरुङ मार्गको औपचारिक उद्घाटनअघि मन्त्री लम्सालले नागढुंगा सुरुङ मार्ग पीडित संघर्ष समिति तथा स्थानीय प्रभावित बासिन्दाका प्रतिनिधिसँग छलफल गर्दै उनीहरूको माग समाधानका लागि मन्त्रालय गम्भीर रहेको बताउनुभयो । उहाँले पीडित पक्षले उठाएका विषयहरूलाई प्राथमिकताका साथ सम्बोधन गरिने विश्वास दिलाउँदै आवश्यक प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मन्त्रीको आश्वासनपछि पीडित पक्षले आन्दोलनका सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गरेको जनाएको छ । संघर्ष समितिले मन्त्रालयसँग थप संवाद र वार्तामार्फत समस्याको दीर्घकालीन समाधान खोजिने अपेक्षा व्यक्त गरेको छ ।

नागढुंगा सुरुङ मार्ग पीडित संघर्ष समिति तथा स्थानीय बासिन्दाले लामो समयदेखि उचित क्षतिपूर्ति, पुनस्र्थापना तथा अन्य सरोकारका विषयमा माग राख्दै विभिन्न चरणका आन्दोलन संचालन गर्दै आएको थियो ।

सरकार र प्रभावित पक्षबीच भएको पछिल्लो सहमतिसँगै लामो समयदेखि विवादको विषय बनेको यस आयोजनासँग सम्बन्धित समस्याको समाधानतर्फ सकारात्मक वातावरण अघि बढेको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय