काठमाडौं । नेकपा (एमाले) चन्द्रागिरि नगर कमिटीले नागढुंगा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको शिलान्यास शिलालेख हटाइएको भन्दै आपत्ति जनाएको छ । कमिटीले उक्त कदमलाई ‘इतिहास मेटाउने प्रयास’ को संज्ञा दिँदै तत्काल सच्याउन सरकारसँग माग गरेको छ ।

नेकपा एमाले चन्द्रागिरि नगर कमिटीका अध्यक्ष उत्तम बहादुर राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शिलान्यास गरिएको सुरुङमार्ग आयोजनाको शिलालेख नियतवश हटाइएको आरोप समेत लगाइएको छ । विज्ञप्तिमा यस कार्यप्रति पार्टीले भत्र्सना गर्दै इतिहास मेटाउने कुनै पनि प्रयास स्वीकार्य नहुने उल्लेख गरिएको छ ।

एमालेले आफ्नो नेतृत्वमा रहेको तत्कालीन सरकारले अघि बढाएको उक्त सुरुङमार्ग आयोजना राजधानीको यातायात व्यवस्थापनमा महत्वपूर्ण उपलब्धि भएको दाबी गरेको छ । आयोजनाको निर्माण सम्पन्न भएपछि राजधानी आवतजावत गर्ने यात्रुहरूलाई सहजता पुगेको भन्दै त्यसमा सहयोग पुर्याउने सबै पक्षप्रति आभार व्यक्त गरेको छ ।

विज्ञप्तिमा सुरुङमार्गलाई नेपालको यातायात पूर्वाधार विकासमा कोशेढुंगा भएको उल्लेख गर्दै यस्ता राष्ट्रिय महत्वका आयोजनाको इतिहासलाई सम्मान गर्नुपर्ने धारणा राखिएको छ ।

साथै, सुरुङमार्ग निर्माणबाट प्रभावित स्थानीय बासिन्दाका आवश्यकता सम्बोधन, खानेपानी व्यवस्थापन, चर्किएका घरको क्षतिपूर्ति तथा स्थानीयलाई रोजगारी सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।

नागढुंगा–सिस्नेखोला सुरुङ मार्गको सोमबार पूर्वाधार मन्त्री सुनिल लम्सालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय