काठमाडौं । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नागढुङ्गा सुरुङमार्गको शिलान्यासका बेला राखिएको हराएको शिलालेख खोजी गरी पुनःस्थापना गरिने बताएका छन् । २०७६ साल कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङमार्गको शिलान्यास गरेका थिए । त्यसबेला राखिएको शिलालेख पछि हटाइएको विषयमा विवाद हुँदै आएको छ ।

सुरुङमार्गको औपचारिक उद्घाटनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री लम्सालले शिलालेख पुनःस्थापना गरिने जानकारी दिए । उनले नागढुङ्गा सुरुङमार्ग नेपालका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै अब देशका अन्य स्थानमा पनि यस्ता सुरुङमार्ग निर्माण गरिने बताए ।

नागढुङ्गा सुरुङमार्गको सम्भाव्यता अध्ययन २०६६/०६७ सालमा सुरु भएको थियो । परियोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री ओलीले गरेका थिए भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारका बेला सम्पन्न भएको थियो । अहिले सुरुङमार्ग औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भएको यो नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग हो । यसको मुख्य सुरुङ २.६८८ किलोमिटर र सहायक सुरुङ २.५५७ किलोमिटर लामो छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय