काठमाडौं । नागढुङ्गा–नौबिसे सडकखण्डको काम अन्तिम चरणमा पुगेको छ । सडकखण्डको ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।
पहिलो प्याकेजमा १२ दशमलव ५ किलोमिटर सडक र दुईवटा पुल निर्माण गर्नुपर्ने थियो । आयोजनाले अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र धादिङतर्फ आकाशे पुल निर्माण गनुपर्नेछ । अन्तिम तहको कालोपत्रेको काम सकिएपछि सडक सुरक्षाका मापदण्ड तथा रंगरोगनको काम शुरु गरिने आयोजनाले जनाएको छ ।



प्रतिनिधिसभा निर्वाचन र त्यसअघि होली पर्वका कारण काम केही प्रभावित हुन सक्ने आयोजनाको भनाइ छ । आकाशे पुल निर्माण हुने धादिङ क्षेत्रमा रहेको टहरा विवादका कारणले पनि केही समय निर्माणमा ढिलाई भएको थियो । सडक निर्माण स्थानीय वासिन्दासँग जोडिएको विषय भएकाले सडक निर्माणको क्रममा एउटै विषयमा समाज विभाजित हुँदा निर्माणमा समस्या हुँदै आएको छ । २०७९ सालबाट निर्माण थालिएको आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।



