काठमाडौं । दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुङ्गा मलेखु सडकखण्ड शुक्रबार र शनिबारका लागि खुला गरिएको छ । नेकपा (एमाले)को ११औं केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई ख्याल गर्दै सो सडकमा आवतजावत नरोकिएको हो ।



नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मंसिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको छ । दुई दिनका लागि बन्द सडक बन्द नगरिने आयोजनाले जनाएको छ । त्यसपछि भने कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाले जानकारी दिनुभयो ।
उहाँले स्तरोन्नतिलाई तीव्रता दिन धादिङ र काठमाडौंको जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मंसिर २४ गतेबाट पुस १ गतेसम्म बिहान साढे १० देखि दिउँसो साढे ३ सम्म दैनिक पाँच घण्टा बन्द गरेर काम गरिरहेका थियौं, एमालेको महाधिवेशनलाई ख्याल गर्दै सवारी चाप र सम्भावित सडक जामलाई मध्यनजर गरी सडक बन्द नगर्ने निर्णय समेत गरेको जानकारी दिनुभयो ।
सडक विभागले काठमाडौं जिल्लाभित्र पर्ने नागढुङ्गा–पिप्लामोड खण्डको कालोपत्र गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ भने धादिङ जिल्लाभित्र पर्ने नौबिसे–मलेखु खण्डको बाङ्गेभीरमा सडक चौडा गर्ने कामलाई महत्व दिएर काम अघि बढाएको छ ।



