नागढुङ्गा–मलेखु सडक खण्ड मंसिर २४ गतेदेखि पुस १ गतेसम्म आंशिक रूपमा बन्द हुने भएको छ। नागढुङ्गा–मुग्लिन सडक आयोजनाका अनुसार सडक कालोपत्र तथा स्तरोन्नति कार्य तीव्र पारिनु पर्ने भएकाले सो अवधिमा दैनिक पाँच घण्टा सवारी आवागमन रोक्ने निर्णय गरिएको हो। आयोजनाले दिएको जानकारीअनुसार नागढुङ्गादेखि पिप्लामोडसम्म तथा पोखरेभिर क्षेत्रमा हरेक दिन बिहान १०स्३० देखि दिउँसो ३स्३० बजेसम्म सबै प्रकारका सवारी आवागमन रोकिनेछ। यस समयमा यात्रु तथा चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।



आवश्यकताका अवस्थामा साना तथा मझौला गाडीहरूले सीतापाईला–भिमढुङ्गा–रामकोट–धार्के मार्ग, वा सामाखुसी–टोखा–छहरे–त्रिशूली–गल्छी हुँदै जरेखेतबाट त्रिशूली–घाटबेसीतर्फ निस्कने मार्ग प्रयोग गर्न सक्ने आयोजनाले जनाएको छ।
नागढुङ्गा–नौबिसे खण्डको कालोपत्र र स्तरोन्नति कार्य अन्तिम चरणमा पुगेको छ। यस्तै धादिङको गल्छी–गजुरी सडक भाग साँघुरो र जोखिमपूर्ण भएकाले पोखरेभिर क्षेत्रमा सडक चौडीकरण आवश्यक भएको आयोजनाले स्पष्ट पारेको छ। सडक स्तरोन्नतिका कारण केही समय असुविधा भए पनि कार्य सम्पन्न भएपछि यातायात सहज, सुरक्षित र छिटो हुने परियोजनाको दाबी छ।



