काठमाडौं । राजधानी काठमाडौंसँग पश्चिम क्षेत्रलाई सिधा जोड्ने महत्वाकांक्षी नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको निर्माण कार्य एक महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ । स्थानीयवासीको अव्यावहारिक र आयोजना सम्बन्धबिहीन मागका कारण चैत ३ गतेदेखि सुरुङमार्ग निर्माण कार्य ठप्प भएको हो ।

आयोजनाका प्रमुख सञ्जय पन्थी भन्नुहुन्छ, स्थानीयहरूले अघिल्लो सम्झौताविपरीत पुनः नयाँ माग राख्दै कार्यमा अवरोध सिर्जना गरेका छन् । उहाँले यसअघि विष्फोटको असरले क्षति पुगेका सातवटा घरको मूल्यांकन भई क्षतिपूर्ति वितरण प्रक्रिया अगाडि बढिसकेको तर, पुनः नयाँ मागहरू प्रस्तुत गरिँदा आयोजनाको काम ठप्प हुन पुगेको बताउनु हुन्छ ।

स्थानीयको माग : विकास रोक्ने बहाना कि अधिकारको खोजी ?

स्थानीयले सुरुङ मार्ग माथिका क्षेत्रको मुआब्जा, निःशुल्क खानेपानी वितरण, दीर्घकालीन सिँचाइ सुविधा, रोजगारीको सुनिश्चितता लगायतका माग राख्दै एक महिना देखि निर्माण कार्य अवरुद्ध गरेका छन् । आयोजनाको पूर्वी र पश्चिमी पोर्टल दुवैबाट निर्माण कार्य पूर्ण रूपमा ठप्प छ । अवरोधका कारण सुरुङमार्गको भुइँ ढलान, पहुँच सडक, फ्लाइओभर निर्माण, पहिरो नियन्त्रणका लागि वाल निर्माणजस्ता महत्वपूर्ण कामहरु रोकिएका छन् ।

आयोजनामा प्रविधिको उच्चतम प्रयोग, तर प्रगति रोकिएको

यस सुरुङमार्गमा अक्सिजन आपूर्ति प्रणाली, आधुनिक भेन्टिलेसन, टेलिफोन सञ्जाल, जेट फ्यानसहित अत्याधुनिक प्रविधिको प्रयोग भइरहेको छ । हालसम्म सुरुङमार्गको क्यारिज–वे साढे नौ मिटर चौडा बनाइएको छ भने बीचमा डेढ मिटरको मेडियन र दुवैतर्फ आधा मिटरका पेटी निर्माण भइरहेका छन् । बलम्बुदेखि सुरुङ प्रवेशद्वारसम्मको २.३ किलोमिटरमध्ये १.९९ किलोमिटर कालोपत्र भइसकेको छ । धादिङतर्फको सिस्नेखोलामा ७२५ मिटरमध्ये ४५० मिटर पहुँचमार्ग निर्माण भइसकेको छ ।

जापानी कम्पनीको क्षतिपूर्ति माग, ठूलो आर्थिक नोक्सानी

निर्माणमा संलग्न जापानी कम्पनी हाजमा एन्डो कर्पोरेसनले दैनिक ५० लाख रुपैयाँ क्षतिपूर्तिको माग गर्दै आएको छ । आयोजनामा कार्यरत १५ जना जापानी, ३ सय नेपाली प्राविधिक र श्रमिकहरूको कामसमेत प्रभावित भएको छ । आयोजना प्रवक्ता रमेश कोइरालाले अब बाँकी काम समयमै सम्पन्न गर्न अवरोध तत्काल हटाउन आवश्यक रहेको बताउँछन् । उहाँले समस्याको समाधान स्थानीय तहबाट नभई अब संघीय सरकारको स्पष्ट हस्तक्षेपबाट मात्र सम्भव हुने बताउँछन् ।

सुरुङमार्गको सफल सम्पन्नताले काठमाडौं–नौबिसे सडक खण्डमा ट्राफिक चाप न्यूनीकरण गर्दै यातायातको समय र खर्चमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । तर, निरन्तर अवरोध, अनिश्चितता र बढ्दो लागतले यो राष्ट्रिय महत्वको आयोजनामा प्रश्नचिन्ह खडा भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय