प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताउनुभएको छ । ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले नागरिकले भय, प्रलोभन वा दबाबबिना प्रतिनिधि छान्ने वातावरण सुनिश्चित गर्नु राज्यको मौलिक दायित्व भएको जनाउनुभयो । उहाँले निर्वाचनमा खटिने सुरक्षा निकायका कर्मचारीलाई उच्च मनोबलमा काम गर्ने वातावरण सरकारले बनाउने जिकिर गर्नुभयो । सम्पूर्ण बालिग नेपालीको मताधिकारलाई सुनिश्चित गर्दै दललाई निर्वाधरुपमा भाग लिन आग्रह गर्नुभयो ।
प्रधानमन्त्री कार्कीले नयाँ पुस्ताले मानव अधिकारलाई कानूनी ग्रन्थमा सिमित नराखेर व्यवहारिक नतिजासँग जोडेर हेर्ने गरेको बताउनु भयो । सामाजिक सञ्जाल तथा डिजिटल प्लाटफर्ममार्फत उनीहरूले गरिरहेको खबरदारी लोकतन्त्रको सुन्दर प्रकटीकरण भएको बताउनु भयो ।कार्यक्रममा मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्यायलाई यथाशिघ्र निष्कर्षमा पुर्याउन आवश्यक रहेको बताउनुभयो। दश वर्षे सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लंघनका घटनाका पीडितहरुको न्याय र परिपूरणको विषय सबैको साझा विषय भएको उहाँको जिकिर छ ।






