काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०८२’ को अवलोकन गर्नुभएको छ । सो अवसरमा उहाँले प्रदर्शनीमा राखिएको दुई सिटे ‘उड्ने कार’ चढेर अनुभव पनि लिनुभएको छ ।

नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन नाडाको आयोजनामा भइरहेको यस अटो शो नेपालकै सबैभन्दा ठूलो गाडी प्रदर्शनी मानिन्छ । प्रदर्शनीमा विभिन्न ब्रान्डका सवारी साधन, इलेक्ट्रिक भेहिकल, मोटरसाइकल, स्कुटर, पिकअपदेखि उड्ने कारसम्म प्रदर्शनमा राखिएका छन् ।

विशेष आकर्षणको रूपमा प्रस्तुत गरिएको उड्ने कार नयाँ प्रविधिको नमुना मानिँदैछ । उक्त कार दुई सिटे रहेको र परीक्षण उडान गर्न मिल्ने खालको भएको जानकारी आयोजकले दिएको छ । अध्यक्ष दाहाल सो कारमा चढेर यसको बनावट र प्रविधिबारे जानकारी लिएको दृश्यले प्रदर्शनीमा आएका दर्शकहरूको ध्यान खिचेको थियो ।

प्रदर्शनीमा २ करोड २० लाख रुपैयाँसम्मका लक्जरी गाडीसमेत देख्न पाइन्छ । यस वर्षको नाडा अटो शोमा ५० भन्दा बढी ब्रान्डका गाडी र अटो पाट्र्स प्रदर्शित छन् । इलेक्ट्रिक सवारीको बढ्दो लोकप्रियतासँगै यस पटकको प्रदर्शनीमा विद्युतीय सवारी र प्रविधि समेटिएको देखिन्छ ।

अध्यक्ष दाहालले प्रविधिको विकास र वातावरणमैत्री सवारीको प्रवद्र्धन आवश्यक रहेको उल्लेख गर्दै यस्ता प्रदर्शनीले नेपाली बजारमा नवीनतम प्रविधिको पहुँच बढाउने विश्वास व्यक्त गर्नुभयो ‘नाडा अटो शो २०८२’ भदौ ८ गतेसम्म सञ्चालनमा रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय