कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७ वर्ष बितिसक्दा पनि अनुसन्धानको प्रगति भने शून्यमै रहेको छ । भीमदत्त नगरपालिका २ उल्टाखामकी पन्तको ०७५ साउन १० गते बलात्कारपछि हत्या भएको थियो । उनको शव स्थानीयले ११ गते गाउँ नजिकैको उखुबारीमा शव फेला पारेका थिए ।

साथीको घरमा होमवर्क गर्न भनेर गएकी बालिकाको बलात्कारपछि हत्या भएको ७ वर्ष बितिसक्दा पनि प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । निर्मलाको शव भेटिएको दिन साउन ११ देखिनै अनुसन्धानमा जुटेको प्रहरीले अहिले सम्म पत्ता लगाउन सकेको छैन। हालसम्म यस प्रकरणमा १५ अनुसन्धान टोली, १२४ जनाको डिएनए परिक्षण र ६ सय ५९ जनालाई सोधपुछ गरेपनि कञ्चनपुर प्रहरीले अहिलेसम्म घटनामा संलग्न अपराधीबारे कुनै ठोस प्रमाण जुटाउन सकेको छैन ।

निर्मला हत्यापछिका घटनाक्रम यहाँ प्रस्तुत गरिएको छः

साउन १०
हान १० बजे गृहकार्य गर्छु भनि साथी रोशनी बमको घर गएकी र त्यहीबाट बेपत्ता भएकी ।
निर्मलाकी आमा दुर्गादेवीद्वारा प्रहरीमा छोरी हराएको जानकारी ।
साउन ११
निर्मलाको शव भीमदत्त नगरपालिका २ स्थित उखुबारीमा भेटिएको ।

साउन १२
हत्याको बिरोधमा महेन्द्रनगरमा प्रदर्शन शुरु ।

साउन १४
निर्मला पन्तको अन्त्यष्टि ।

साउन २१ गते
चक्रदेव वडुलाई पक्राउ ।

साउन ३१ गते
हजार रुपियाँ धरौटीमा चक्रदेव वडुलाई रिहा ।

भदौ ४
मुख्य अभियुक्त भनेर मानसिक सन्तुलन गुमाएका ४१ वर्षीय दिलीपसिंह बिष्ट पक्राउ ।
न्याय माग्दै जिल्ला प्रहरी कार्यालयमा धर्ना ।

भदौँ ६
महेन्द्रनगरमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई दर्जन घाइते ।
प्रहरीद्वारा १० सेल अश्रुग्यास प्रहार ।

भदौ ७
आन्दोलनका क्रममा दुई प्रहरी र ६ आन्दोलनकारी घाइते ।
कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन ।
सिडियो कुमार खड्का र तत्कालिन एसपी डिल्लीराज बिष्टलाई विभागमा फिर्ता बोलाई उनीहरुको स्थानमा क्रमशः तारानाथ अधिकारी र कुवेर कडायत खटाइए ।
आन्दोलनका क्रममा घाइते भएका सम्पूर्णको खर्च सरकारले ब्योहोर्ने घोषणा ।

भदौ ८
गृह मन्त्रालयले बनाएको छानबिन टोली महेन्द्रनगर पुगी काम शुरु ।
आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागि सन्नी खुनाको मृत्यु ।
महेन्द्रनगर आसपासका क्षेत्रमा कफ्र्यु लगाउन शुरु ।

भदौ ९
सोधपुछका लागि निर्मलाकी साथी रोशनी बम र उनकी दिदी बबिता बम प्रहरी नियन्त्रणमा ।

सन्नी खुनाको अन्त्यष्टि ।
निर्मला पन्त र सन्नी खुनाको परिवारलाई राहतस्वरुप १०-१० लाख दिने सरकारको घोषणा ।

प्रहरीले चलाएको गोली लागेर घाइते भएका सुरेश प्रकाश चटौत र उमेश देउवालाई कोहलपुर रेफर ।
तत्कालिन एसपी डिल्लीराज बिष्ट निलम्वित ।
डिएसपी ज्ञानबहादुर सेटी र प्रहरी उपरिक्षक एकेन्द्र खड्का प्रहरी मुख्यालयमा फिर्ता ।

भदौ ११
बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म फेरी कफ्र्यु जारी ।
‘निर्मलाका निम्ति न्यायका लागि काठमाडौँको माइतीघरमा लाइभ कार्टुन र पेन्टिङ प्रदर्शनी ।

भदौँ १२
डिएसपी कृष्णराज ओझाको नेतृत्व छानबिन समिति गठन ।
दिलिपसिंह विष्टलाई स्वास्थ्य परीक्षणका लागि काठमाडाँै लगियो ।

भदौ १५
तत्कालिन खानेपानी मन्त्री बिना मगरद्वारा निर्मला र आन्दोलनमा मृत्यु भएका सन्नीका घर–परिवारसँग भेट ।

भदौ २१
तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल निर्मलाको घरमा ।
अनुसन्धानमा व्यापक त्रुटी भएको मानव अधिकार आयोगको निष्कर्ष ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल टेलिभिजनसँगको अन्तर्वार्ताका क्रममा निर्मलाको शव पोष्टमार्टमपछि अन्तिम
दाहसंस्कारका लागि घाट लैजाने क्रममा भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टको घरको आँगनमा राखिएको, उच्चस्तरीय छानविन समितिलाई अनुसन्धानमा बाधा पुर्याएको लगायतका झुटो कुराहरु बोलेको भन्दै सर्वत्र बिरोध ।

भदौ २२
महानिरीक्षक खनालद्वारा घटनाको अनुसन्धान प्रक्रियामा प्रहरीको कमजोरी भएको स्वीकार ।

भदौ २४
दिलिपसिंह विष्टलाई ४ दिन थुनामा राख्न म्याद थप ।

भदौ २५
हरिप्रसाल मैनाली नेतृत्वको उच्च स्तरीय छानविन टोलीका सदस्य वीरेन्द्रबहादुर केसीले सुरक्षाको कारण देखाउँदै समितिबाट राजीनामा ।

भदौ २६
दिलिपसिंह बिष्टको डिएनए म्याच नखाएपछि रिहाइ
बम दिदिबहिनी पनि साधारण तारिखमा छुटे ।

भदौ २७
निर्मलाका आमाबुबा न्यायको लागि काठमाडौँमा ।
झुटो’अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई कारबाहीको तयारी ।
न्यायको माग गर्दै महेन्द्रनगरमा आमा समूह फेरि आन्दोलित, कालो साडी लगाएर कालो तीज ।

भदौँ २८
निर्मलाका आमाबुबा र अधिकारकर्मीको पत्रकार सम्मेलन ।
नेपाली कांग्रेसद्धारा वास्तविक हत्यारा पक्राउको माग गर्दै संसद बैठक अवरुद्ध ।

निलम्बित एसपी डिल्लीराज विष्टसहित उनका छोरा किरण तथा भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टका भतिज आयुष विष्टको डीएनए परीक्षण सुरु ।
न्याय माग्दै थाली, चम्चा, मोटर साइकल, अटो र साइकलको हर्न बजाएर महेन्द्रनगरमा प्रदर्शन ।

भदौ २९
सदनमा सांसदद्वारा सरकारको आलोचना ।
निर्मला हत्याकाण्डको अनुसन्धान अन्तिम चरणमा रहेको गृहमन्त्री थापाद्वारा सदनलाई जानकारी ।

भदौ ३०
डिएसपी ज्ञानबहादुर सेटी, अंगुर जिसी, एकेन्द्र खड्का,र प्रहरी सहायक निरीक्षक रमासिंह धामी निलम्वन ।
निर्मलाका निम्ति न्याय माग्दै देशैभर प्रदर्शन।
नेवि संघद्वारा महेन्द्रनगरमा प्रदर्शन र कञ्चनपुर बन्द ।

भदौ ३१
डीआइजी धिरु बस्नेतको संयोजकत्वमा शक्तिशाली छानबिन समिति गठन ।

असोज १
निर्मलाका आमाबुबाद्वारा प्रधानमन्त्रीसँग भेट ।
हत्याराले कुनै पनि हालतमा उन्मुक्ति नपाउने प्रधानमन्त्रीको आश्वासन ।

असोज २
— प्रहरी मुख्यालयले एसपी दुर्गा सिंह (चन्द) लाई महेन्द्रनगर खटायो ।

असोज ७
— नेपाल महिला संघद्धारा कञ्चनपुर लगायत ७७ वटै जिल्लामा प्रदर्शन तथा प्रधानमन्त्रीलाई ज्ञापन पत्र ।
तत्कालीन एसपी डिल्लीराज विष्ट साढे १० लाख, डिएसपी अंगुर जिसी ९ लाख, प्रहरी नायब उपरीक्षक
(डिएसपी) ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्का ९-९ लाख, प्रहरी निरीक्षक जगदीश भट्ट ४ लाख, सई हरिसिंह धामीलाई ३ लाख ५० हजार, सई रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउद २ लाख ५० हजार धरौटीमा रिहा भएका थिए । अहिले पुर्नवाहालि ।

अनुसन्धान कसरी अल्झियो ?
निर्माला प्रकरण गिजोलिएका कारण हालसम्म अनुसन्धान निश्कर्षमा पुग्न सकेको छैन । घटना लगत्तै नागरिक समाजदेखि सञ्चारकर्मीले वास्तविक भन्दा भीडकका पछि लाग्दा अनुसन्धान गिजोलिएको हो । त्यतिबेला प्रहरी भीडकै पछि लाग्दा ठुलो क्षति समेत हुन पुग्यो ।

घटना लगत्तै आन्दोलन सुरु हुदा प्रहरी मात्रै नभई सञ्चारकर्मी समेत मिस गाइड भए । जसका कारण अनुसन्धान सहि दिशामा जान सकेन । भीडको आवाज सुन्दै प्रहरीको अनुसन्धान त्यसमै केन्द्रीत हुन पुग्यो । सञ्चारकर्मी र मिडिया पनि भीडकै पछि लागे । स्थानीय देखी राष्ट्रिय स्तरका सञ्चारमाध्यमबाट खटिएका स्पेशल रिपोर्टरहरुले समेत घटनालाई गिजोल्ने काम मात्रै गरेको पाइयो ।

पछिल्लो समय
०७९ पुसमा पूर्व सञ्चारकर्मी रवि लामिछाने गृह मन्त्री भएपछि उनले डिआइजी दुर्गा सिंहको नेतृत्वमा केन्द्रीय अनुसन्धान ब्युरोको टाली पनि जिल्लामा खटायो । विगतमा आफैले यसबारे समाचाार प्रसारण गरेका कारण पनि उनले निर्माला प्रकरणलाई महत्व दिएका थिए। तर उक्त टोलीले पनि केही ठोस अनुसन्धान गर्न सकेन, टोली फिर्ता भयो । अहिले यो प्रकरण शिथिल जस्तै बनेको छ ।

अहिलेको समयमा
अहिले कञ्चनपुको क्षेत्र नं.३ बाट निर्वाचित भएर गृहमन्त्री भएका रमेश लेखकले पनि निर्मला पन्तको न्यायका लागि धर्नामा बसेका थिए । तर आफै राज्य शक्तिमा हुँदा यसबारे कुनै चासो देखाएनन् । उल्टै बिभिन्न सञ्चारकर्मीले गरेको प्रस्नमा मुख मडारेको देखिन्छ ।

अदालतले पनि त्यस बखत जिल्ल प्रहरी कार्यालयका कार्यरत प्रहरी जवानदेखि तत्कालीन एसपी दिल्लीरजा बिष्ट र सीआइबी अंगुर जिसीका पक्षमा फैसला गरेपनि बरिष्ठ पत्रकार खेम भण्डारीलाई समाचार लेखेकै भरमा एक महिना जेल तथा एक लाख रुपैयाँ क्षतिपूर्ती र १० हजार जरिवाना गर्दा कञ्चनपुरमा चियो चर्चा सरकारको बारेका भइरहेको छ ।
पत्रकार भण्डारीलाई तत्कालिन एसपी दिल्लीरजाज बिष्टका छोरा किरण बिष्टले गालीबेजतीमा अदालतमा मुद्दा हालेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय