ताप्लेजुङ — ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाले निर्माण कार्यमा अपेक्षित प्रगति हासिल हुन नसकेको भन्दै दुई वटा महत्वपूर्ण सडक योजनाको ठेक्का सम्झौता अन्त्य गरेको छ। गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण ठेक्का सम्झौता रद्द गरिएको जानकारी दिएको हो।

गाउँपालिकाले अन्त्य गरेको ठेक्कामध्ये पहिलो योजना मामाङ्खे–संग्रहालय–हुडाई–तुम्बिम्बा–थावाबुक–याम्फुदिन–कञ्चनजङ्घा आधार शिविर सडक निर्माण योजना रहेको छ। यो सडक कञ्चनजङ्घा क्षेत्रको पर्यटन प्रवर्द्धन, स्थानीय बासिन्दाको आवागमन सहज बनाउने तथा दुर्गम बस्तीलाई सडक सञ्जालसँग जोड्ने उद्देश्यले अघि बढाइएको महत्वपूर्ण योजना हो।

त्यस्तै, दोस्रो योजना सिरिजङ्घा गाउँपालिकाको केन्द्रदेखि थुम्मा–नागदेवा–हुडाई–फुन्द्रुवा–याङपाङसम्मको सडक निर्माण योजना रहेको छ। गाउँपालिकाको प्रशासनिक केन्द्रलाई विभिन्न वडासँग जोड्ने यस सडकलाई स्थानीय विकासका लागि प्राथमिकतामा राखिएको थियो।

सिरिजङ्घा गाउँपालिकाका उपाध्यक्ष डा. चित्र माबोका अनुसार निर्माण व्यवसायीलाई पटकपटक मौखिक तथा लिखित रूपमा कामको गति बढाउन निर्देशन दिइएको थियो। तर निर्देशनको पालना नगरी निर्माण कार्यमा उल्लेखनीय सुधार नदेखिएको, कार्यसम्पादन सन्तोषजनक नभएको तथा निर्धारित समयभित्र योजना सम्पन्न गर्ने कुनै प्रभावकारी पहल नगरेकाले अन्ततः ठेक्का सम्झौता अन्त्य गर्ने निर्णय गरिएको हो।

उहाँले निर्माण कार्यमा देखिएको ढिलाइका कारण स्थानीय नागरिकले लामो समयदेखि सडक सुविधाबाट वञ्चित हुनुपरेको र विकास आयोजनाको प्रभावकारितामा समेत असर परेको बताउनुभयो। सार्वजनिक लगानीको संरक्षण गर्दै समयमै गुणस्तरीय पूर्वाधार निर्माण सुनिश्चित गर्न गाउँपालिकाले कानुनी प्रक्रियाअनुसार निर्णय लिनुपरेको उहाँको भनाइ छ।

गाउँपालिकाका अनुसार सार्वजनिक खरिद ऐन, २०६३, प्रचलित नियमावली तथा ठेक्का सम्झौतामा उल्लेख भएका कानुनी व्यवस्थाअनुसार गाउँ कार्यपालिकाको निर्णयबाट दुवै सडक योजनाको ठेक्का सम्झौता अन्त्य गरिएको हो। यस सम्बन्धमा सम्बन्धित निर्माण व्यवसायीलाई औपचारिक रूपमा जानकारीसमेत दिइसकिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले अब कानुनी प्रक्रिया पूरा गरी योजनालाई पुनः अघि बढाउने, नयाँ निर्माण प्रक्रिया अगाडि बढाउने तथा विकास आयोजनालाई समयमै सम्पन्न गर्ने विषयमा आवश्यक निर्णय गरिने जनाएको छ। स्थानीयवासीले पनि लामो समयदेखि अलपत्र रहेका सडक योजनालाई छिटो पुनः सञ्चालन गरी निर्माण सम्पन्न गर्न गाउँपालिकासँग माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय