काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार विकासका व्यावहारिक समस्या हल गर्न सरकार सकारात्मक रहेको बताउनु भएको छ । निर्माण व्यवसायीका प्रतिनिधिहरुसँगको छलफलमा प्रधानमन्त्री शाहले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।



प्रधानमन्त्री शाहले निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवद्र्धन, भौतिक पूर्वाधार विकासलगायत विषयमा निर्माण व्यवसायीका प्रतिनिधिहरुसँग विहीबार छलफल गर्नुभएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल निर्माण व्यवसायी महासंघका पदाधिकारीहरुसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका व्यावहारिक समस्याको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनु भएको हो ।
निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको प्रधानमन्त्रीको भनाइ छ । व्यवसायीहरुले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याद थप, ठेक्का व्यवस्थापन, समयमै आयोजना कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानीसम्बन्धी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराएका थिए । उनीहरुले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका थिए ।



