काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचन आउन १६ दिन बाँकी छ । निर्वाचन नजिकिंदै जाँदा निर्वाचन खर्च बैंक तथा वित्तीय संस्थाका खातामार्फत गर्नुपर्ने बाध्यकारी व्यवस्था अनुसार उम्मेदवारले धमाधम खाता खोलिरहेको निर्वाचन आयोगले जनाएको छ । राजनीतिक दल र उम्मेदवारले चुनावमा खर्च गर्न छुट्टै बैंक खाता खोल्ने व्यवस्था आयोगले गरेको छ ।

सोही व्यवस्थाअनुसार हालसम्म ६७१ जना उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा चुनावी खाता खोलेका छन् । निर्वाचनमा भाग लिने दल र उम्मेदवारले यसअघिका निर्वाचनमा बैंक खातामार्फत खर्च गर्नुपर्ने अनिवार्य गरिएको थिएन । यस वर्षदेखि भने दल र उम्मेदवारले निर्वाचन खर्च अनिवार्य बैंक खातामार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको हो । बैँकिङ प्रणालीबाट निर्वाचन खर्च पारदर्शी हुने आयोगको विश्वास छ ।

आयोगले विभिन्न आधारमा भूगोलअनुसार उम्मेदवारले २५ लाखदेखि ३३ लाखसम्म खर्च गर्न पाउने व्यवस्था गरेको छ । आर्थिक अनुशासनका लागि आयोगले यस्तो व्यवस्था गरेको स्पष्ट पारेको छ । आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार कालीकोटजस्तो दुर्गम जिल्लाका सबै उम्मेदवारले बैंक खाता खोलिसक्दा सुगम जिल्लाका अधिकांश उम्मेदवारले अझै खाता नखोलेका बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका अनुसार ७५३ वटै स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाको शाखा खुलेका छन् । आयोगले सोमबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई आमन्त्रण गरी छलफल गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय