काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपरिणाम सम्बन्धी प्रतिवेदन आज बुझाउने भएको छ ।



आयोगले प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकतर्फको १ सय १० जनाको निर्वाचन परिणाम राष्ट्रपति पौडेललाई बुझाउन लागेको हो । आयोगले राष्ट्रपतिलाई निर्वाचन परिणाम बुझाएपछि संसद् आह्वानसँगै सरकार गठन प्रक्रिया शुरु हुने छ । गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रत्यक्ष १ सय २५ सिट र समानुपातिक ५७ सिटसहित कूल १ सय ८२ सिटसहित पहिलो दलका रूपमा उदाएको छ ।
नेपाली कांग्रेस प्रत्यक्षमा १८ सिट र समानुपातिकमा २० सिटसहित कूल ३८ सिट ल्याएर दोस्रो दल, नेपाल कम्युनिस्ट पार्टी (एमाले) प्रत्यक्षमा नौ सिट र समानुपातिकमा १६ सिट ल्याएर कूल २५ सिटसहित तेस्रो दल, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रत्यक्षमा आठ सिट र समानुपातिकमा नौ सिट ल्याएर कूल १७ सिटसहित चौथो दल, श्रम संस्कृति पार्टी कूल सात सिट ल्याएर पाँचौं दल र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि कूल पाँच सिट नै प्राप्त गर्दै छैठौं दल हुन पुगेको छ ।
निर्वाचनबाट राष्ट्रिय दलका रूपमा ६ पार्टी मात्रै हुने भएको आयोगले जनाएको हो ।



