काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएपछि सम्बन्धित उम्मेदवारले जनताको मतलाई सम्मानपूर्वक स्वीकार गर्दै मतदाताप्रति आभार व्यक्त गरेका छन् ।



उनले यस पटक अपेक्षा गरेअनुसार परिणाम प्राप्त गर्न नसकेको र आफ्नो पार्टीले पनि अपेक्षित सफलता हासिल गर्न नसकेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै अध्यक्ष ओलीले लोकतन्त्रमा अन्तिम निर्णय जनताकै हुने भएकाले त्यसलाई शिरोधार्य गर्नु आफ्नो र पार्टीको कर्तव्य भएको उल्लेख गरेका छन् । साथै, कठिन परिस्थितिमा पनि एमालेलाई मतदान गरेर साथ दिने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक तथा समर्थकहरूप्रति हार्दिक धन्यवाद पनि व्यक्त गरेका छन् ।
अध्यक्ष ओलीले निर्वाचन परिणाम आफ्नो पक्षमा नआए पनि जनताप्रतिको प्रतिबद्धता र सेवाभाव कमजोर नहुने स्पष्ट पारेका छन् । उनले आगामी दिनमा पनि जनताकै बीचमा रहेर जनताकै हितका लागि निरन्तर काम गर्दै जाने र विश्वासको सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।



