काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालनमा ल्याइने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ ।



विभागले यो मार्ग खुम्बु आइसफलतर्फको भन्दा सुरक्षित रहेकाले आगामी वसन्तयाम (स्प्रिङ) मौसमभित्र सञ्चालन हुनेगरी तयारी भइरहेको जनाएको हो । करिब २ सय मिटरजति लामो हुने भएकाले छोटो बाटोका लागि सिधै खुम्बु आइसफल हुँदै सगरमाथा आरोहण गर्ने मार्ग खोलिएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो ।
खुम्बु आइसफलको बाटो पहिलोपटक सन् १९८४ मा सञ्चालनमा ल्याइएकोले खुम्बु आइसफलको बाटो खुलेपछि परम्परागत मार्गको नामले परिचित नुप्सेतर्फको उक्त बाटो उपयोगविहीन भएको र यो बाटो खुम्बु आइसफलतर्फको भन्दा धेरैगुणा सुरक्षित रहेको विश्व पर्वतारोहण महासंघका विज्ञ एवं पर्यटनविद् आङ्छिरिङ शेर्पा बताउनु हुन्छ ।
सोही मार्गको खोजी, अनुसन्धान तथा पुनःसञ्चालनका लागि विश्वविख्यात आरोही तथा अनुसन्धानकर्ता काजी शेर्पा, फ्रान्सका आरोही मार्क वटाई र फ्रान्सकै अर्का विश्वविख्यात आरोही एन्ट्वान एरोेलाई जिम्मा दिइएको छ । पर्यटन विभागका निर्देशक हिमाल गौतमले नुप्से हिमालको फेदीमा सगरमाथा आधार शिविर हुनेगरी उक्त मार्ग निर्माणको करिब ८० प्रतिशत काम सम्पन्न भएको बताउनु भयो । फ्रान्सस्थित विभिन्न पर्वातारोहण संघसंस्थाको आर्थिक सहयोगमा पर्यटन मन्त्रालयले उक्त ऐतिहासिक बाटोलाई वैकल्पिक रूपमा खुलाउन लागेको हो ।
सोही बाटो हुँदै ७२ वर्षअघि तेञ्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलो पटक सगरमाथा शिखरमा पाइला टेकेका थिए । यही पुरानो मार्गलाई पुनःजीवन दिनेगरी करिब १० जना विश्वविख्यात आरोहीसहितको समूहले करिब तीन वर्षअघिदेखि सक्रिय नयाँ पदमार्ग खोजी गरेको खोज तथा अनुसन्धानकर्ता काजी शेर्पा बताउँछन् ।



