काठमाडौं । नुवाकोटमा भएको हेलिकोप्टर दुर्घटना छानबिन गर्न सरकारले तीन सदस्यीय आयोग गठन गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको हो ।
गठित आयोगमा एरोनोटिकल इन्जिनियर विष्णु बस्नेत र तनुजा पोखरेल सदस्य रहेका छन् । जाँचबुझ प्रतिवेदन बुझाउन आयोगलाई एक महिनाको समय तोकिएको छ । एयर डाइनेस्टीको हेलिकप्टर नुवाकोटको शिवपुरी गाउँपालिका सूर्यचौरमा दुर्घटना हुँदा पाइलटसहित ५ जनाको मृत्यु भएको थियो ।



काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी कलसाइन भएको हेलिकप्टर दुर्घटनामा चार चिनियाँ र क्पाप्टेन अरुण मल्लको मृत्यु भएको हो । मृत्यु हुने चिनियाँ नागरिकहरु जुताड ताङ, ताइ ली, यीयाड वु र जेमिङ जी छन् । ४ जना चिनियाँ नागरिक मध्ये ३ जना पुरुष र एक जना महिला रहेको प्रहरीले जनाएको छ । दुर्घटना भएको हेलिकोप्टरले चार जना चिनियाँ नागरिकलाई स्याफ्रुबेँसी छाडेर त्यहाँबाट विदेशी नै लिएर फर्कने तालिका थियो । प्रारम्भिक अनुसन्धानमा खराब मौसमका कारण दुर्घटना भएको आशंका गरिएको छ । एयर डाइनेस्टीको हेलिकप्टर उडेको तीन मिनेटमै काठमाडौँ टावरसँग सम्पर्क विच्छेद भएको थियो । नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै काठमाडौं विमानस्थलबाट दिउँसो १ः५४ मा उक्त हेलिकप्टर उडेको जानकारी दिएको छ । हेलिकप्टर लुक्लाबाट फर्किए लगत्तै रसुवा उडेको थियो ।



