काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का जम्बो केन्द्रीय समितिका सदस्यले शपथ लिएका छन् । पेरिसडाँडामा आयोजित शपथग्रहण समारोहमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपाललाई जेष्ठ सदस्य नन्दकुमार प्रसाईंले शपथ गराएका छन् । त्यसपछि संयोजक प्रचण्डले २ हजार ४ सय ९९ जना केन्द्रीय सदस्यलाई शपथ गराएका छन् ।
तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरूको एकताबाट नेपाली कम्युनिस्ट पार्टी गठन भएको हो । सबै पार्टीमा रहेका केन्द्रीय सदस्यलाई नेकपामा उही पद दिए पछि नेकपाको जम्बो केन्द्रीय समिति बनेको छ ।
शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जेनजी आन्दोलनपछि पार्टी एकता र रूपान्तरण जरुरी रहेकाले नै त्यसतर्फ अघि बढेको बताएका छन् ।



सहसंयोजक माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन पार्टीका लागि अग्नि परीक्षा रहेको बताउँदै त्यसलाई पार लगाउनका लागि सिंगो पार्टी पंक्ति एकतावद्ध भएर परिचालन हुन जरुरी रहेको समेत बताए ।



