काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने भएको छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २० गते बिहान ११ बजे विशेष समारोहका बिच महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र आयोजक समितिका ३ सय १५ जना गरी कुल २ हजार ३ सय ४१ जना सहभागी हुने पार्टीले जनाएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नाराका साथ सम्पन्न हुने महाधिवेशनलाई भव्य र सभ्य बनाउन आवश्यक तयारी पूरा भएको पार्टीको केन्द्रीय प्रचार विभागले जानकारी दिएको छ ।

महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ । यस्तै, केन्द्रीय अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग र सल्लाहकार परिषदका अध्यक्षहरूले आ–आफ्ना प्रतिवेदन पेस गर्ने तयारी गरिएको छ । विधान संशोधन प्रस्तावमा ७० वर्षे उमेरहद हटाउने, जिल्ला कमिटीलाई कार्यकारी बनाउने, २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी, त्यसको एकतिहाइ पोलिटब्यूरो र १५ सदस्यीय स्थायी कमिटी रहने व्यवस्था प्रस्ताव गरिएको छ । स्थायी कमिटीमा कम्तीमा एक महिला अनिवार्य हुने प्रावधानसमेत प्रस्ताव गरिएको छ । संगठनात्मक प्रतिवेदनमार्फत पार्टी निर्माणका चुनौती, समाधानका उपाय र निर्णायक राष्ट्रिय शक्ति निर्माणको मार्गचित्र प्रस्तुत गरिने छ । राजनीतिक प्रतिवेदनमा भने राष्ट्रिय, अन्तर्राष्ट्रिय परिस्थिति विश्लेषण गर्दै पार्टीको आगामी कार्यदिशा र समाजवाद स्थापनाको रोडम्याप प्रस्तुत गरिने पार्टीले जनाएको छ ।

महाधिवेशनलाई सफल बनाउन आठ वटा उपसमितिहरू गठन गरिएको छ । स्वागत, आवास, स्वास्थ्य, प्रचार, मञ्च सजावट, सांस्कृतिक कार्यक्रमदेखि लिएर यातायात र सुरक्षासम्मका तयारी पूरा भएको एमालेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय