नेकपा एमालेको ११औँ महाधिवेशनले केपी शर्मा ओलीलाई तेस्रो कार्यकालका लागि पार्टीको कमाण्डर घोषित गरेको छ। विपक्षीहरुले उमेरको प्रश्न उठाए पनि, अनि आफ्नै सहयात्रीले पुस्तान्तरणको नारा दिए पनि ओलीले भारी मतका साथ विजयको झण्डा गाड्नुभयो । तर, यो विजयपछि सार्वजनिक भएका ओलीका अभिव्यक्ति र हाउभाउले एउटा नयाँ बहस सुरु गरेको छ, के यो विजयले ओलीमा आत्मविश्वास मात्र बढाउला कि दम्भसमेत रुनेकपा एमालेको ११औँ महाधिवेशनबाट भारी मतसहित अध्यक्षमा ह्याट्रिक जित हासिल गर्नुभएका ओली त्यसलगत्तैको शपथपछि थप ठूलो आवाजमा विरोधीहरुमाथि खनिनुभयो । यसै पनि ओलीको अभिव्यक्ति दम्भसहितको शक्तिशाली हुने गरेकै छ । त्यसमाथि आफ्नो विरोध गर्नेहरुलाई ठूलै अन्तरले हराएर तेस्रोपटक अध्यक्ष बन्दा उहाँमा आत्मविश्वाससँगै दम्भ बढ्नु अस्वभाविक थिएन ।

ओलीले यो महाधिवेशनमा केवल चुनाव मात्र जित्नुभएन, आफूलाई चुनौती दिन सक्ने शक्ति केन्द्रहरुलाई समेत ध्वस्त बनाइदिनुभयो । एकातिर आफ्नै पुरानो सहयात्री ईश्वर पोखरेलको महत्वाकांक्षालाई किनारा लगाइदिनुभयो भने अर्कोतिर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पर्दा पछाडिको सक्रियतालाई समेत कार्यकर्ताको मतमार्फत् असफल तुल्याइदिनुभयो । यही सफलताले नै ओलीमा मैले जे गरे पनि पार्टीले स्वीकार्छ भन्ने मनोविज्ञान बलियो भएको देखिन्छ।

ओलीको आत्मविश्वासको जग केवल प्रतिनिधिको मत मात्र नभई पार्टीको विधानलाई नै आफ्नो अनुकूल बनाउन सक्ने सामर्थ्य पनि हो । आफ्नै लागि ७० वर्षे उमेर हद हटाउनु र दुई कार्यकालको सीमा उल्ट्याउनुले ओलीलाई अपराजित महसुस गराएको छ । महाधिवेशनपछि उहाँले दिएको अभिव्यक्तिमा पार्टीभित्र अब कसैको चुनौती छैन भन्ने आशय समेत झल्किएको छ ।

तर, पार्टीभित्रको यो सुपर पावर छवि ओलीसामु चुनौतीको पहाड पनि हो । सबै शक्ति आफ्नै हातमा केन्द्रित गर्दा, फरक मत राख्नेहरुका लागि ठाउँ साँगुरिँदै गएको छ । बाहिर जेनजी पुस्ता र नयाँ दलको लहर चलिरहेका बेला ओलीको यो बढ्दो दम्भपूर्ण आत्मविश्वासले एमालेलाई एकलौटी र अनुदार पार्टीको रुपमा चित्रित गर्ने जोखिम बढेको छ । ओलीले यसअघि नवौँ र दशौँ महाधिवेशनपछि पनि पनि यस्तै शक्तिशाली छवि बनाउनु भएको थियो । तर त्यसको केही समयमै पार्टी विभाजनको पीडा पनि भोग्नुपरेको थियो । अहिले तेस्रो कार्यकालका लागि चुनिएपछि ओलीको यो बढ्दो आत्मविश्वासले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउँछ वा दम्भका कारण पार्टी पुनः आन्तरिक संकटमा फस्छरु यसको उत्तरका लागि भने केही समय कुर्नैपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय