नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्वमा बस्ने हैसियत गुमाइसकेको दाबी गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको ७७औं स्थापना दिवस तथा १५६औं लेनिन जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित विशेष कार्यक्रमलाई प्रचण्डले शिक्षकहरुको आन्दोलनलाई हल्का रुपमा लिनु घातक हुने चेतावनी दिनुभयो । शिक्षकहरुको आन्दोलनको बीचमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको राजीनामाले पनि यो सरकार कतिसम्म गैरजिम्मेवार छ भन्ने कुरा पुष्टि गरेको प्रचण्डको भनाइ छ । प्रचण्डले शिक्षकहरुलाई धैर्यतापूर्वक आन्दोलनलाई निरन्तरता दिन आग्रह गर्दै यो पटकको आन्दोलन असफल हुन नदिने जिम्मेवारीका साथ अगाडि बढ्न उहाँले शिक्षकहरुलाई आग्रह समेत गर्नुभयो ।
त्यसैगरी, लघुवित्त पीडित, सहकारी पीडित तथा चिकित्सकहरू आन्दोलनमा रहेको अवस्थालाई उल्लेख गर्दै प्रचण्डले सबैको जायज माग छिटो सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो । यसैगरी नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री भलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकहरुको मागलाई कुल्चिएर हिँडिरहेको आरोप लगाउनुभयो । उहाँले अहिलेका नेतृत्वहरुसँग जनता रिसाएको र रिसाएका जनताले के गर्छन् भन्नेकुरा सोच्न नसकिने चेतावनी पनि दिनुभयो ।



त्यसैगरि यता नेता खनालले नेकपा माओवादी केन्द्र अवसरवादी पार्टी भएको उल्लेख गर्नुभयो । केही दिनअघिसम्म काँग्रेसको पिठ्युँमा चढेर माओवादीले घमण्ड गरिरहे पनि अहिले क्रान्तिकारी कुरा गरिरहेको बताउनु भयो । त्यस्तै शिक्षक आन्दोलनकाबीच शिक्षा मन्त्री विद्या भट्टराईको राजनीमा आएपछि आलोचना भइरहेको बेलामा प्रधानमन्त्री ओलीले मुख खोल्नु भएको छ । उहाँले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि बैँकक गएको सन्दर्भलाई पनि सरकार ढल्छ भन्ने खालका हल्लासँग जोड्न खोजिएको टिप्पणी गर्दै एमाले र काँग्रेससँगको सहमतिबमोजिम १५ महिनापछि आफूले सभापति देउवालाई प्रधानमन्त्री हस्तान्तरण गर्ने दोहोर्याउनुभयो ।



