काठमाडौं । नेपालका सीएम विवेक थिङ नेपालकै पहिलो फिडे मास्टर बन्न सफल भएका छन् । हंगेरीमा भइरहेको बुद्धिचाल ओलम्पियाडमा थिङले फिडे मास्टरको उपाधि जित्न सफल भएका हुन् ।
ओलम्पिक रिङ एक्स्पो क्लासिक बुद्धिचाल प्रतियोगितामा व्यक्तिगत रेटिङ १९.४ अंकले बढाउँदै २३०१.४ रेटिङ पुर्याएर खेल प्रदर्शनका आधारमा फिडे मास्टरको उपाधि हात पारेका हुन् । हंगेरी चेस फेडेरेशनले आयोजना गरेको बुद्धिचाल प्रतिस्पर्धामा हंगेरीका अन्तर्राष्ट्रिय मास्टर टर्जु अटिलालाई पराजित गरेका हुन् । विवेकले पहिलो चरणमा जर्मनका हाहन निक्लासलाई, दोस्रो चरणमा हंगेरीका बाकी बेन्स र तेस्रो चरणमा हंगेरीकै २११९ रेटेड अन्तर्राष्ट्रिय मास्टर मेस्जारोस आन्द्रासलाई पराजित गरे । चार चरणको खेलसँगै विवेकले सबै खेल जितेर ४ अंक जोडेका छन् ।



दोस्रो स्थानमा रहेका इटलीका २०७० रेटेड ला बार्बेरा मानफ्रेडीको ३.५ अंक छ। अब विवेकले मानफ्रेडीसँग पाँचौँ चरणमा प्रतिस्पर्धा गर्नेछन् । अष्ट्रेलियामा बस्ने विवेक ओलम्पियाडमा भाग लिन उतैबाट हंगेरी गएका हुन्।



