काठमाडौं । संयुक्त राज्य अमेरिकाको नेवार्क सहरमा २०२६ मेट्रो ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिप सम्पन्न भएको छ । USA Taekwondo -USATKD प्रिलिम तथा आधिकारिक १०.० रैंकिंग पोइन्ट इभेन्टका रूपमा मान्यता प्राप्त यस प्रतियोगिताले अमेरिका तथा पान–अमेरिकी क्षेत्रका शीर्ष खेलाडी, प्रशिक्षक र प्राविधिक अधिकारीहरूलाई एकै स्थानमा उभ्याएको थियो ।



दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा ३०० भन्दा बढी खेलाडीहरूले पुम्से (फारम), क्योरुगी (स्पारिङ), ब्रेकिङ र हतियार विधामा प्रतिस्पर्धा गरेका थिए । ओलम्पिक शैली तथा परम्परागत तेक्वान्दो दुवै समेटिएको कार्यक्रमले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकको दाबी छ ।
प्रतियोगितामा सबै स्पारिङ खेलहरूमा PSS (प्रोटेक्टर एन्ड स्कोरिङ सिस्टम) तथा पुम्से प्रतिस्पर्धामा पुम्से प्रो इलेक्ट्रोनिक स्कोरिङ प्रणाली प्रयोग गरिएको थियो, जसले निष्पक्ष, पारदर्शी र उच्चस्तरीय निर्णय सुनिश्चित गरेको आयोजकहरूको भनाइ छ ।
कार्यक्रममा ४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रेफ्रीहरूको सहभागिता रहेको थियो । उत्कृष्ट कार्यसम्पादनका आधारमा मास्टर सञ्जीव नेपालीलाई ‘सर्वश्रेष्ठ पुरुष रेफ्री’ पुरस्कार प्रदान गरिएको छ । त्यस्तै, लरेन ह्यान्कक ‘सर्वश्रेष्ठ महिला रेफ्री’ घोषित भइन् भने अन्तर्राष्ट्रिय रेफ्री रिचर्ड पुहललाई विशेष उत्कृष्ट रेफ्री सम्मान प्रदान गरियो ।
उत्कृष्ट व्यवस्थापन, उच्चस्तरीय प्रतिस्पर्धा र आधुनिक प्रविधिको प्रयोगका कारण २०२६ मेट्रो ओपन इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपले अमेरिकामा वर्षकै एक प्रमुख तेक्वान्दो प्रतियोगिताका रूपमा आफ्नो पहिचान थप मजबुत बनाएको छ । प्रतियोगिताले पान–अमेरिकी क्षेत्रमा तेक्वान्दोको बढ्दो लोकप्रियता र अन्तर्राष्ट्रिय प्रभावलाई पनि उजागर गरेको छ ।



