काठमाडौं । नेपालका २४ स्थानमा जमीन भासिने खतरा देखिएको छ । खानी तथा भू–गर्भ विभाग र भौगर्भिक अध्येताले २०५५ सालदेखि गरेको अध्ययनअनुसार तराई, मधेश र पहाडी जिल्लामा जमीन भासिने खतरा देखिएको हो ।
गत वैशाख १९ गते मकवानपुरको हेटौंडा उप–महानगरपालिका–१६, गैरीगाउँमा सडकमा गुडिरहेको गाडी जमीन भासिएर हराएको छ । भू–गर्भविद्का अनुसार ११ मिटरसम्मको खाल्डो बनेपछि जमीन भासिएर फसेको गाडी अझै त्यही दलदलमै छ । कास्कीको पोखरासहित विभिन्न जिल्लामा जमीन भासिएर गम्भीर दुर्घटना पनि भएका छन् । केही जिल्लामा जमीन भासिने खतरालाई दृष्टिगत गरी खानी तथा भूगर्भ विभागले सचेत पनि गराउँदै आएको छ ।



विभागले झापाको भद्रपुर, दमक, मोरङको विराटनगर, सुनसरीको धरान, सिन्धुली, धनुषाको जनकपुरधाम, महोत्तरीका बर्दिबास र जलेश्वर, पर्साको वीरगन्ज, मकवानपुरको हेटौंडा, काठमाडौं र नुवाकोटमा जमीन भासिने जोखिमयुक्त भौगर्भिक संरचना भएको जनाएको छ ।
जमीन भासिनु आफैँमा खतरापूर्ण हुने भू–गर्भविद्हरुको भनाइ छ । भू–गर्भविद्हरुले जमीन कमजोर हुँदा भासिन सक्ने भएकाले जथाभावी संरचना र बोरिङहरु नगर्न पनि सुझाव दिएका छन् ।
चन्द्रागिरि नगरपालिका भित्र पनि बोरिङको मात्रा बढ्दै गएको छ । अहिले पनि निजी तथा खानेपानी समितिका नाममा बोरिङ खन्ने काम भइरहेको छ । खानेपानीको नाममा विकल्प नखोजी बोरिङमा मात्र ध्यान जाँदा कुनै दिन चन्द्रागिरि भित्र पनि जमीन भासिएर ठूलै दुर्घटना नहोला भन्न सकिदैन । स्मरण रहोस् केही समय अघि पोखरामा बोरिङकै कारण जमीन भासिएको थियो ।



