नेपालमा दर्ताका लागि टिकटकले पत्राचार गरेको छ । नेपाल सरकारले टिकटकलाई प्रतिबन्ध लगाएपछि औपचारिक रुपमै दर्ता हुन पहिलो पटक टिकटकले इमेल पठाएको हो । सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने निर्देशिका २०८० जारी गरेपछि नेपालमा दर्ता प्रक्रिया अनुसार टिकटकले इमेल गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले जानकारी दिएका हुन ।
उनले भने, ‘हामीले सामाजिक सञ्जालहरुलाई दर्ता प्रक्रियामा आउन भनेपछि टिकटकले पनि इमेल पठाएको छ । तर, सरकारले नै बन्द गरेको टिकटक दर्ता हुने कुरा भएन ।’हाल टिकटक बन्दको विरुद्धमा अदालतमा मुद्दा विचारधीन रहेको छ ।






