नेपालले बाल क्यान्सरको निःशुल्क उपचारका लागि आवश्यक औषधी प्राप्त गरेको छ। विश्व स्वास्थ्य संगठन र सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल को पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स कार्यक्रम अन्तर्गत पहिलो खेप नेपाल आइपुगेको हो। क्रमशः थप औषधी पनि उपलब्ध हुने जानकारी संगठनले दिएको छ।
नेपालका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल ले सहयोगी दाताहरुलाई धन्यवाद दिँदै यो सहयोग बाल क्यान्सरका कारण हुने मृत्युदर घटाउन महत्त्वपूर्ण हुने बताए। उनले नेपाल सरकारले मंसिर १ गतेबाट बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था लागू गरेको स्मरण गर्दै भने— कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट बञ्चित नहुन् भन्ने हाम्रो लक्ष्य हो। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी का अनुसार प्राप्त औषधी चार प्रमुख अस्पतालहरूमा प्रयोग गरिनेछ । भक्तपुर क्यान्सर अस्पताल
कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर क्यान्सर अस्पताल रहेको छ ।



मन्त्री पौडेलका अनुसार नेपालले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरी उपचार र रोकथाम दुबै क्षेत्रमा सुधार गर्दैछ। उनले भने— देशभर क्यान्सर उपचार सेवा विस्तार गर्दैछौं। यसमा क्रमशः सुधार ल्याउने योजना छ। नेपालमा बाल क्यान्सर पीडितहरूको लागि निःशुल्क उपचार अब उपलब्ध हुने भएको छ। सरकारी प्रयास, अन्तर्राष्ट्रिय सहयोग, र अस्पतालहरूको समन्वयले क्यान्सर पीडित बालबालिकालाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।



