जल तथा मौसम विज्ञान विभागले आगामी साता नेपालमा मौसममा फेरबदल आउन सक्ने चेतावनी दिएको छ। बङ्गालको खाडीमा विकसित हुँदै गरेको न्यून चापीय प्रणालीको प्रभावका कारण कात्तिक १० देखि १५ गतेसम्म देशका विभिन्न क्षेत्रमा मौसम प्रभावित हुन सक्ने विभागले जनाएको छ।
विभागका अनुसार मंगलबारसम्म मौसम सामान्यतया सफा रहने अनुमान छ। त्यसपछि विकसित हुने मौसमी प्रणालीले देशका अधिकांश भूभागमा प्रभाव पार्न सक्ने भए पनि वर्षाको मात्रा र प्रभावबारे अहिले नै यकिन गर्न सकिएको छैन।



मौसमविद् रोजन लामिछानेका अनुसार कात्तिक ७ गतेसम्म हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने अन्य क्षेत्रमा वर्षाको सम्भावना न्यून छ।
मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै विभागले किसानलाई धान काट्ने तथा बाली भित्र्याउने काम सम्भव भएसम्म कात्तिक ७ गतेभित्रै सम्पन्न गर्न आग्रह गरेको छ। वर्षाले कृषि उत्पादनमा असर पार्न सक्ने भएकाले अनुकूल मौसमको सदुपयोग गर्न किसानलाई सुझाव दिइएको हो।
त्यस्तै, आगामी साता कृषि, पर्यटन तथा खेलकुद गतिविधि प्रभावित हुन सक्ने भएकाले कार्यक्रम तथा भ्रमणको योजना बनाउँदा मौसमी अवस्थालाई ध्यान दिन पनि विभागले अनुरोध गरेको छ। सोमबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा समेत मौसमले प्रभाव पार्न सक्ने सम्भावना औँल्याइएको छ। विभागले नागरिकलाई मौसमसम्बन्धी पछिल्ला अद्यावधिक जानकारीका लागि आधिकारिक वेबसाइट तथा सामाजिक सञ्जाल नियमित हेर्न र आवश्यक परे ११५५ नम्बरमा फोन गरी जानकारी लिन आग्रह गरेको छ।



