काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले मात्रै चाहेर भारतीय रुपैयाँ ५ सय भन्दा माथिका नोट नेपालमा सञ्चालन गर्न नसकिने बताउनुभएको छ । अर्थ समितिको बैठकमा अर्थमन्त्री पौडेलले भारतीय ५ सय रुपैयाँ भन्दा ठूलो दरका नोट नेपालमा चलाउन भारत सरकारको सहमति आवश्यक पर्ने बताउनु भएको हो ।
बैठकमा सांसदहरुले ठूला दरका भारतीय बैंक नोट नेपालमा नचल्ने र अमेरिकी डलर ५ हजार तथा भारु ५ लाखभन्दा बढी नेपालमा बोक्न नमिल्ने भएकाले पर्यटकलाई समस्या पर्ने गरेको भन्दै अर्थमन्त्री समक्ष प्रश्न उठाएका थिए ।



जवाफमा अर्थमन्त्री पौडेलले भारु ४ लाखसम्म भन्सार घोषणा नगराइकनै र भारु ६ लाखसम्म भन्सार घोषणा गराएर नेपाल ल्याउन पाउने व्यवस्था भएकोमा पछिल्लो समय डिजिटल भुक्तानी र क्युआरबाट हुने कारोबारले सहज बनाएको बताउनुभयो । भारतले २०७३ सालमा नोटबन्दी गर्नुअघि नेपालमा भारु ५ सय दरभन्दा ठूला नोटहरु चलनचल्तीमा रहेको तर नोटबन्दी पछि भारतले नेपालमा भएका भारु नसाटेको जानकारी दिनुभयो ।
समितिको आजको बैठकमा अर्थमन्त्री पौडलले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) लाई समितिबाट चाँडो टुङ्ग्याइनुपर्नेमा आवश्यकता औँल्याउनुभयो ।
बाफिया विधेयकमाथि सांसदद्वय देवेन्द्र पौडेल र डा. अमरेशकुमार सिंहले राख्नुभएको संशोधन प्रस्तावमाथि आजको बैठकमा छलफल भएको थियो । सांसद पौडेलले बाफिया संशोधनमार्फत लगानीका लागि सहज बनाउने गरी कर्जा नीति अवलम्बन गरिनुपर्ने उल्लेख गर्नुभयो।
त्यस्तै, सांसद सिंहले स्वार्थको द्वन्द्व हटाउनका लागि बैंकर र व्यवसायी छुट्याउनुपर्ने, उत्पादनशील क्षेत्रमा कर्जा लगाउने बढाउने, निश्चित व्यावसायिक घरानाले मात्र कर्जा प्रयोग गर्ने अवस्था अन्त्य गरेर सर्वसाधारणलाई पनि सजिलै कर्जा उपलब्ध गराउन सकिने नीति लिइनुपर्ने, क्रिप्टोकरेन्सी कारोबारलाई कानुनको दायराभित्र ल्याउनुपर्नेलगायत सुझाव दिनुभएको थियो ।
बैठकमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले अहिले १९ लाख ६० हजार ऋणीलाई ५६ खर्ब रुपैयाँ हाराहारीमा कर्जा प्रवाह भएको बताउनुभयो ।
साथै बैंकिङ प्रणालीमा अहिले ७० खर्ब रुपैयाँको हाराहारी निक्षेप रहेको स्पष्ट पर्नुभयो ।



