काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले नेपाली युवाले निर्माण गरेका विश्वचर्चित मोबाइल गेम तथा एपहरूको प्रवर्द्धन र गेमिङ उद्योगको विकासका लागि आवश्यक नीतिगत सुधार गर्ने बताएका छन्।प्रधानमन्त्री शाहले नेपाली गेम डेभलपमेन्ट कम्पनीका प्रतिनिधिहरूसँग छलफल गर्दै उनीहरूले भोगिरहेका समस्या सुनेको र गेमिङ क्षेत्रलाई व्यवस्थित उद्योगका रूपमा विकास गर्न सरकार अघि बढेको बताएका हुन्।
उनका अनुसार विश्वभर लोकप्रिय लुडो गेम र कलब्रेक गेम नेपालीहरूले नै निर्माण गरेका हुन्। लुडो गेमका करिब २० करोड र कलब्रेक गेमका करिब १५ करोड डाउनलोड रहेको उल्लेख गर्दै उनले नेपाली युवाको सीप र क्षमताले विश्व बजारमा पहिचान बनाएको बताएका छन्।प्रधानमन्त्री शाहले सामाजिक सञ्जालमार्फत नेपाली युवाहरूले गेम निर्माणमा उल्लेखनीय काम गरिरहेको उल्लेख गर्दै उनीहरूका समस्या समाधान गर्न सरकारले गृहकार्य सुरु गरेको जानकारी दिएका छन्।



नेपालबाटै ग्लोबल युनिकर्न कम्पनी निर्माण गर्न सहज हुने गरी आवश्यक नीति, नियम र व्यावसायिक वातावरणको पुनरावलोकन गरिने उनको भनाइ छ।उनले सूचना प्रविधि (आईटी) क्षेत्रका उत्पादन तथा सेवाको निर्यात पनि विस्तार हुँदै गएको उल्लेख गर्दै नेपाली प्रतिभा र कम्पनीहरूले सहज रूपमा आम्दानी गर्न तथा विदेशी लगानी आकर्षित गर्न आवश्यक नीतिगत सहजता प्रदान गरिने बताएका छन्।
त्यस्तै, गेम जाम, स्टार्टअप इभेन्ट, आईटी क्षेत्र र राष्ट्र बैंक तथा अर्थ मन्त्रालयबीचको समन्वयलाई प्रभावकारी बनाउने विषयमा पनि सरकारले काम गर्ने उनले बताएका छन्।गेमिङ उद्योग, आईटी क्षेत्र र समग्र डिजिटल अर्थतन्त्रलाई फाइदा पुग्ने गरी आवश्यक नीतिगत सुधार, अन्तरनिकाय समन्वय र लगानीमैत्री वातावरण निर्माण गर्ने सरकारको योजना रहेको प्रधानमन्त्री शाहले बताएका छन्।नेपाली युवाले निर्माण गरेका डिजिटल उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन तथा नेपालमै प्रविधिमा आधारित उद्योग विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ।



