प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालीहरुले बौद्धिकताको माध्यमबाट पनि अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठालाई स्थापित गराएको बताएका छन् । शनिवार बालुवाटारस्थित आफ्नै सरकारी निवासमा आयोजित ‘प्रा. डा. सूर्य सुवेदीः महाविद्यावारिधिदेखि नोबेल शान्ति पुरस्कार मनोनयनसम्म’ पुस्तकको लोकर्पण गर्दै प्रधानमन्त्री दाहालले सो कुरा बताएका हुन् । उनले डा. सुवेदीको बौद्धिकताबाट नेपालका सबै राजनीतिक दलहरु प्रभावित रहेको पनि बताए । प्रधानमन्त्री दाहालले नेपालको संविधान बनाउन, भारतसँग भएका सन्धि, सम्झौताका लागि प्रस्ताव तयार पार्न र संसदबाट एमसीसी पास गराउन पनि आफूले रोजेको मध्यमार्गी बाटो डा. सुवेदीको विज्ञताको प्रतिफल भएको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले सुवेदीको पुस्तकले युवा पुस्तालाई आफ्नो लक्ष्य हासिल गर्न प्रेरित गर्ने विश्वास समेत व्यक्त गरे । कार्यक्रममा कानूनविद् सुवेदीले नेपालमा संसद अवरुद्ध हुन नहुने बताए । संसदमा जति पनि कुरा राख्न पाइने भएकाले संसद अवरोध गर्न आवश्यक नभएको उनको भनाइ छ । कानूनविद् सुवेदीले नेपालको संविधान संसदीय व्यवस्थाका लागि मुलभुत रुपमा ठिक भएको उल्लेख गर्दै त्यसलाई समयसापेक्ष संशोधन गर्दै लैजानुपर्नेमा जोड पनि दिए ।






