अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विघटित प्रतिनिधिसभाको अर्थ समिति सभापति सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानुनीरुपमा सम्पत्ति आर्जन गरेको आरोपमा नेपाली कांग्रेसका नेता एवं निवर्तमान सांसद चालिसेविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ७ सय ६१ रुपैयाँ गैरकानुनीरुपमा आर्जन गरेको आरोपमा मुद्दा दायर गरेको आयोगले जनाएको छ । आयोगले सोही रकम बराबरको बिगो कायम गरी स्रोत नखुलेको सम्पत्ती जफत र कैद सजायको माग गरिएको आरोप–पत्रमा उल्लेख छ ।

चालिसे गोकर्णेश्वर नगरपालिकाका तत्कालीन मेयर समेत हुनुहुन्थ्यो । चालिसे २०७४ जेठ ८ गते मेयर पदमा निर्वाचित हुनुभएको थियो । सार्वजनिक पदमा प्रवेश गरेदेखि २०७९ असार ३२ गतेसम्मको जाँच अवधिमा चालिसे र उहाँको परिवारको नाममा रहेको सम्पत्ति आय भन्दा व्यय बढी देखिएको अख्तियारको ठहर छ । अख्तियारले उनका परिवार सदस्यलाई पनि विपक्षी बनाएको छ । परिवारको नाममा रहेको सम्पत्तीमध्ये ३ करोड ६८ लाख ४७ हजार ७६१ रुपैयाँको स्रोत पुष्टि गर्न नसकेको अख्तियारको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय