कोजाग्रत पूर्णिमाको अवसर पारेर नेपाली कांग्रेसले आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । बडादसँगै, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा चियापान कार्यक्रम आयोजना गरेको हो । पार्टी कार्यालय सानेपामा आयोजना गरेको चियापान कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसहित विभिन्न दलका शीर्ष नेताहरु सहभागी भएका थिए । उनीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले स्वागत गरेका थिए ।
कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीसहित नेताहरु विष्णु पौडेल, विष्णु रिमाल, ईश्वर पोखरेल, रघुजी पन्त, छबिलाल विश्वकर्मा लगायतका नेताहरु सहभागी भएका थिए । कार्यक्रममा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, रास्वपाका सभापति रवि लामिछाने, सभामुख देवराज घिमिरे, पूर्वसभामुख दमननाथ ढुंगाना लगायतका नेताहरु पनि सहभागी भएका थिए ।



कांग्रेसले पार्टी केन्द्रीय कार्यालय सानेपामा बडादसैँ, तिहार, नेपाल संवत् र छठलगायतका पर्वका अवसरमा चियापान कार्यक्रमको आयोजना गरेको हो । बिपी कोइराला स्वदेश फर्केपछि जटिल बनिरहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा बडादसैं लगायतका पर्वको उपलक्ष्यमा सबै पक्षलाई समेटेर सद्भाव कायम गर्न सुरु गरिएको शुभकामना आदानप्रदान अहिले पनि त्यतिकै सान्दर्भिक रहेको कांग्रेस नेताहरूको भनाइ छ । बिपी विसं २०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि कांग्रेसले विसं २०३४ देखि चियापान कार्यक्रम सुरु गरेको हो ।



