नेपाली कांग्रेसभित्रको किचलो पुनः सतहमा आएको छ । विशेष महाधिवेशन गराउने अडानमा रहेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरुको हस्ताक्षर अभियानलाई सभापति शेरबहादुर देउवा पक्षले अस्वीकार गर्ने संकेत गरेका छन् । उनीहरुले महाधिवेशनका लागि हस्ताक्षर अभियानको कुनै औचित्य नभएको टिप्पणी गर्न थालेका छन् । तर, महामन्त्री पक्षधरहरुले भने विधान बमोजिम नै विशेष महाधिवेशन माग गर्न खोजिएको सम्झाएका छन् । यो किचलो अब बस्ने कांग्रेसको केन्द्रीय समिति बैठकमा उठ्ने छ ।
विधानतः नेपाली कांग्रेसको महाधिवेशन यही मंसिरमा हुनुपर्ने हो । तर, एकवर्ष म्याद थप गर्ने योजनामा कांग्रेस थियो । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनले राजनीतिमै परिवर्तनको शंखनाथ गरिदियो । यही मेसोमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरु विशेष महाधिवेशन बोलाउनुपर्ने अडानका साथ हस्ताक्षर अभियानमा जुटे । यो अभियानलाई सतर्कतापूर्वक नेता शेखर कोइराला पक्षले पनि साथ दिएको देखिन्छ । हस्ताक्षर अभियानको नेतृत्व नै नेता गुरु घिमिरेले गर्नुभएकोछ । नियमित महाधिवेशनमा जाने हो भने कांग्रेसले क्रियाशिल सदस्यता टुंग्याउनेदेखि क्षेत्रीय, जिल्ला समितिहरुको अधिवेशन गरिनुपर्छ । तर, विशेष महाधिवेशनमा जाँदा १४औँ महाधिवेशनकै प्रतिनिधिले नेतृत्व चयन गर्नेछ । यसमा म्याद सकिएका र तर्दथ कार्यसमिति रहेका भातृ तथा शुभेच्छुक संस्थाहरुको प्रतिनिधित्व गराउन नहुने हस्ताक्षर अभियानमा जुटेका नेताहरु बताउँछन् । असोज २६ गते कांग्रेसको केन्द्रीय समिति बैठक बोलाइएको छ । विशेष महाधिवेशन पक्षधरले हस्ताक्षर बुझाउने र केन्द्रीय समिति बैठक निर्णय गर्नुपर्ने माग राखेका छन् । उनीहरुले ५१ प्रतिशत हस्ताक्षर संकलन भइसकेको दाबी गरेका छन् । विधानको धारा १७ को उपधारा २ मा विशेष महाधिवेशनको परिकल्पना गरेको छ । विशेष महाधिवेशनका लागि विशेष कारण खुलाइ ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरे केन्द्रीय समितिले ३ महिनाभित्र महाधिवेशन गर्नुपर्ने व्यवस्था छ । अथवा केन्द्रीय समिति आफैंले पनि विशेष महाधिवेशन बोलाउन सक्छ ।



तर, विशेष महाधिवेशनमा जानुको औचित्य नभएको सभापति देउवा पक्षधरका नेताहरुले बताउने गरेका छन् । अहिलेको यो परिस्थितिमा हस्ताक्षरको कुनै आवश्यकता नै नभएको तर्क संस्थापन पक्षको छ । संस्थापन पक्ष नियमित महाधिवेशन नै हुनुपर्ने अवस्था रहेकाले त्यही बाटोमा जानुपर्ने मत राख्छन् । नियमित महाधिवेशनमा जाने हो भने आउने मंसिरमा त्यो सम्भव नहुने कतिपयको बुझाइछ । मात्र, महाधिवेशन धकेल्नका लागिमात्र यो प्रस्ताव ल्याउन खोजिएको इतर पक्षको बुझाइछ । तर, नियमित महाधिवेशनमै जाने दृढ संकल्प भएपनि त्यसलाई स्वीकार्न सकिने इतरको भनाइ छ । यसका लागि सबै पक्ष तयार भएर अघि बढ्नुपर्छ ।
तर, त्यो आगामी मंसिरमै हुनुपर्ने अडान हस्ताक्षर पक्षधरको छ । उनीहरु फेरिएको राजनीतिक परिस्थितिमा वर्तमान नेतृत्व असफल भइसकेको तर्क गर्छन् । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको माग यो पहिलो होइन, विक्रम संवत् २०१४ सालमा पनि विशेष महाधिवेशन भएको थियो । पछि २०५९ सालमा पनि विशेष महाधिवेशन गरिएको थियो, यो विधानको व्यवस्थाभन्दा बलपूर्वक भएको बुझाइ इतरले राखेको छ । त्यसबेला कांग्रेस विभाजित बनेको थियो । कांग्रेसका हालका सभापति देउवाले अलगै विशेष महाधिवेशन भनेर नेपाली कांग्रेस प्रजातान्त्रिक भनेर नयाँ दल अस्तित्वमा ल्याउनुभएको थियो । विशेष महाधिवेशनकाबारेमा कांग्रेसभित्र चर्को बहस भइरहेका बेला आम निर्वाचनको धारणामा पनि कांग्रेस प्रष्ट छैन । कांग्रेसले अन्य दलहरुसँग छलफल गरेर परिस्थिति हेरि निर्वाचनबारे धारणा बनाउने भएको छ । असोज २६ गते बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठकले विशेष महाधिवेशन र आमनिर्वाचनबारे आफ्नो धारणा बनाउने अपेक्षा गरिएको छ । अहिलेको चर्को बहस हेर्दा केन्द्रीय समिति बैठक निकै रस्साकस्सीको अवस्थामा पुग्ने आंकलन गरिन थालिएको छ ।



